ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा

 बैशाख १०, २०७६ मंगलबार १८:२७:५४ | रासस
unn.prixa.net

काठमाण्डाै - आउँदाे असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापर्वाहीका कारण समस्यामा परेको छ ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रबर्द्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले त्यस आयोजना निर्माण गरिरहेको छ ।

कूल १०२ मेगावाट क्षमताको त्यस आयोजनामा निर्माण व्यवसायीको लापर्वाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ ।

सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । जसका कारण आयोजनाको निर्माण कहिले सकिने हो भन्नेमा अनिश्चित बनेको छ ।

आयोजना नै अन्योलमा पर्ने अवस्था देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन पहिले आयोजनास्थलको निरीक्षण गरी निर्माण अवस्थाको बारेमा जानकारी लिनुभएको हो । निर्माण व्यवसायीले काम नगरेपछि आयोजनास्थल हाल सुनसानजस्तै रहेको छ । आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अलपत्र छ । 

'ठेकेदार कम्पनीलाई काममा सुधार गर्न निरन्तर निर्देशन दिँदै आएका छौँ, सुरुङ, विद्युत्गृह, बाँधलगायतका सबै क्षेत्रमा समानान्तर रुपमा काम गर्न कुनै समस्या छैन तर ठेकेदार कम्पनीले नगद प्रवाहको समस्या देखाउँदै काम गरिरहेको छैन', उहाँले भन्नुभयो ।

ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार काममा सुधार गर्न निर्देशन दिए पनि कम्पनीले काममा तदारुकता देखाएको छैन । ठेकेदार कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति भएको छैन । आयोजना अन्योलमा फस्दैमा गएपछि आगामी दिनमा के कसरी निकास खोज्ने भन्नेबारेमा उचित निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ । 

आयोजनाको प्रवद्र्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक शेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि बढाउनुभएको थियो । 

 मध्य भोटेकोसीले गत २७ फेब्रुअरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो । त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताउनुभयो ।

'चीनबाट ठेकेदार कम्पनीका अधिकार प्राप्त अधिकारी पनि छलफलका लागि आए तर ठोस निर्णय हुन सकेको छैन;, प्रमुख कार्यकारी अधिकृत काफ्लेले भन्नुभयो, 'निर्माणका लागि आवश्यक पर्ने उपकरण कसरी ल्याउने, नगद कहाँबाट जुटाउनेलगायतका विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेका छौँ तर उसले दिन सकिरहेको छैन ।'

आयोजनामा ढिलाइ भइरहे प्रबर्द्धक कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ । सोबारेमा छिट्टै निर्णय हुने बताइएको छ । जुरे पहिरो, भूकम्प तथा त्यसपछिका बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले अपेक्षा गरेअनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो ।

हालसम्म बाँधस्थल खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउनेलगायतका काम भएका छन् । कूल सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनियरिङ, खरीद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । इलेक्ट्रिक मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ । 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड रहेको थियो ।  हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १४ अर्ब ८३ करोड ९२ लाख रहेको छ । निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । कूल ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको छ । 

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरको स्वामित्व संस्थापक शेयरधनीमा छ । त्यसमा प्राधिकरणको दश प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको एक प्रतिशत,  नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावरको समान एक/एक प्रतिशत शेयर रहेको छ । 

यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच प्रतिशत, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको दश प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ । 

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु दुई अर्ब ९० करोड बराबरको आम्दानी हुनेछ । 

 

 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया