विकासको भोक मेट्न लागिपरेको एउटा गाउँपालिका

 बैशाख १३, २०७६ शुक्रबार ९:१६:४८ | अर्जुन पोख्रेल
unn.prixa.net

प्यूठान – वैशाखको १ गते, नयाँ वर्षको चटारो । धेरै नेपाली नयाँ वर्षको शुभकामना साटासाट गर्दै रमाइलो गरिरहेका थिए । कोही घुमघाम व्यस्त थिए । अरुलाई जस्तै स्थानीयत तहका जनप्रतिनिधिलाई पनि नयाँ वर्ष नलाग्ने कुरै भएन । केही जनप्रतिनिधि छिमेकी जिल्ला घुम्न गएका थिए भने र केही वनभोज तथा सांस्कृतिक कार्यक्रममा व्यस्त थिए । 

तर नयाँ वर्षको दिन साँझ साढे सात बजेतिर प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा पुग्दा वडाध्यक्ष डोरबहादुर राना भने डोजरसँगै बाटो मर्मत गरिरहेको अवस्थामा भेटिनुभयो । उहाँलाई नयाँ वर्षको चटारोले छोएको थिएन । डोजर चालकलाई निर्देशन दिनेदेखि बाटो सफा गर्ने काममा उहाँ रातिसम्म खटिनुभएको थियो । यसको कारण थियो, भोलिपल्ट हुने मिडिया सम्मेलनमा पुग्ने पाहुनाले गाडीबाट झरेर धकेल्नु नपरोस् ।

प्यूठानको गौमुखी गाउँपालिकालाई विकट भएकैले धेरैले ‘शेष’ गाउँपालिका भन्छन् । तर अब यो शेष गाउँपालिकालाई बेस बनाउनुपर्छ र यहाँ भएका प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सम्पदालाई देश विदेशमा चिनाउनुपर्छ भनेर गाउँपालिकाले वैशाख १, २ र ३ गते गौमुखीको अर्घामा गौमुखी मिडिया सम्मेलन गर्‍यो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित देशभरका अढाइ सयभन्दा धेरै पत्रकार बोलाएर गाउँपालिकाले आफ्नो आफ्नो क्षेत्रका महत्वपूर्ण ठाउँको चिनारी दियो र भन्यो ‘धेरै ठाउँ अघि बढिसके, गौमुखीलाई अगाडि बढाउन सहयोग गरिदिने जिम्मा तपाइँहरुकै हो ।’

विकासको लागि संघर्ष गर्दै गौमुखी

प्यूठानको उत्तरी क्षेत्रका खरा, अर्खा, रजवारा, पूजा, लिवाङ लगायतका साविकका गाविस पहिल्यैदेखि अति कम विकसित हुन् । साविकका यी गाविसलाई प्यूठानका कुना भनेर पनि चिनिन्थ्यो ।  बाटोघाटो र बिजुली थिएन । गाउँमा कुनै घटना भयो भने २/३ दिनपछि मात्रै अन्य ठाउँमा खबर पुग्थ्यो ।

सरकारले राज्य पुनर्संरचना गरेपछि उत्तरी प्यूठानका खरा, अर्खा, रजवारा, खुङ, पूजा, लिवाङ र नारिकोट जोडेर गौमुखी गाउँपालिका बन्यो । नारिकोट र पूजामा केही विकास भए पनि अरु साविकका चार गाविस भने विकासबाट निकै नै पछि परेका थिए । 

तर गाउँपालिका बनेपछि गाउँमा अलिअलि विकासका रेखा कुद्न थालेका छन् । गाउँपालिकाका हरेक वडामा बल्लतल्ल धकेल्दै धकेल्दै भए पनि जीप सेवा पुगेको छ । केही वडामा झिमरुक जलविद्युत आयोजनाबाट  र केही वडामा लघु जलविद्युतबाट बिजुलीको मेलोमेसो मिलाइएको छ । २५ हजार ४ सय जनसंख्यामध्ये ४० प्रतिशतको घरमा नियमित बिजुली पुगेको छ । 

हरेक बर्खामा खरका छाना चुहिएर हैरान भएका गाउँलेलाई राहत दिन गाउँपालिकाले ५ करोड २८ लाख रुपैँया खर्च गरेर १६ सय ३३ घरमा जस्तापाता लगाइदिएको छ । ‘पहिला नागरिकको टाउको राम्रोसँग ओताउनुप¥यो, त्यसपछि अन्य विकास गरौंला भन्ने सल्लाह अनुसार ठूलो रकम खर्च गरेर जस्तापाता लगाइदिएका छौं, अब हामी अन्य विकासको लागि संघर्ष गरिरहेका छौं’ गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भन्नुभयो । 

अझै पनि गाउँपालिका (विशेषगरी खरा, अर्खा र रजवारा) मा नागरिकका दुःख उस्तै छन, । बर्खा लागेपछि सडक सञ्जाल बन्द हुन्छ । बिजुली काटिन्छ, बादल लाग्नेबित्तिकै टेलिफोन सेवा बन्द हुन्छ । सरसफाईको कमी छ । केटाकेटीमा कुपोषण छ । गाउँमा गाडी पुग्दा केटाकेटी खुशीले दंग हुँदै गाडीको पछि कुद्छन् ।

यस्तो विकट गाउँपालिकालाई पर्यटनका माध्यमबाट बदल्न सकिन्छ भनेर पुरै गाउँपालिका लागेको छ ।  

गौमुखी अर्थात दुर्गमको हिरा

गौमुखी क्षेत्रलाई दुर्गमको हिरा भनेर पनि चिनिन्छ । गौमुखीमा एउटा गुफा छ, जहाँभित्र एउटा गाई आकारको संरचना छ । गाईको मुखबाट पानी झरेको छ । झिमरुक नदीको मुख्य मुहान नै त्यही हो । गाईको मुखबाट झरेको पानीले स्नान गरेमा ठूलो पुण्य प्राप्त हुने आशामा बर्सेनि हजारौं भक्तजन गौमुखी पुग्छन् । माघे संक्रान्तिमा गौमुखीमा ठूलो मेला लाग्छ । 

२०६६ सालमै ३० हजार पर्यटक तथा भक्तजन गौमुखी पुगेका थिए । भौगोलिक हिसाबले अप्ठ्यारो ठाउँमा रहेको गौमुखी पुग्न सजिलो होस् भनेर झण्डै एक किलोमिटर क्षेत्रको बाटोमा सिंढी लगाउने र फलामका बार लगाउने काम गाउँपालिकाले गरेको छ । 

लुम्बिनी र स्वर्गद्धारी पुगेका भक्तजन र पर्यटकलाई गौमुखीसम्म तान्न गाउँपालिकाले पहल गरिरहेको छ । वैसाखको १, २ र ३ गते गौमुखी नजिकै अर्खामा मिडिया सम्मेलन गरेर गाउँपालिकाले यो क्षेत्रको प्रचार प्रसार गरिदिन आग्रह गर्‍यो । 

‘खासै महत्व नभएका ठाउँ पनि पर्यटकीय हिसाबले चम्किरहेका छन्, तर हाम्रो यस्तो ठूलो महत्व भएको ठाउँ भने ओझेलमा परेको छ, यसलाई प्रचारप्रसार गर्न सकेमा हामीले काँचुली फेर्न सक्छौं भन्ने लागेको छ’ गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भन्नुभयो । 

धार्मिक मात्र होइन गौमुखी क्षेत्र जडिबुटी तथा ग्रामिण जीवनशैली अवलोकनको लागि पनि महत्वपूर्ण थलो हो । गाउँपालिकामा ३३ प्रतिशत जनसंख्या मगरको छ । गाउँपालिकामा आधुनिक संस्कार प्रवेश गरिनसकेको भएकाले मगर समुदायका पुराना नाच र भेषभुषा देख्न पाइन्छ । सोरठी र खैंजडीमा बेलुकीपख अर्खा क्षेत्र गुञ्जयमान हुन्छ ।

यदि पर्यटक गइरहने हो भने होमस्टे बनाएर पाहुनालाई न्यानो स्वागत गर्ने बताउनुहुन्छ रेश्मा न्यौपाने । ‘अहिलेको शहरीया जमानामा गाउँलेपन देख्न मुश्किल छ, यदी यहाँ पर्यटक आउने हो भने हामीले होमस्टे चलाएर उनीहरुलाई स्वागत गर्न तयार छौं, अन्त भन्दा गौमुखी बेग्लै छ’ न्यौपानेले भन्नुभयो ।

वनजंगलको धनी, जडिबुटीको खानी

गौमुखी गाउँपालिका जडिबुटीको धनी छ । उत्तरी क्षेत्र पर्ने भएकाले गाउँपालिकाका धेरै क्षेत्रमा वर्षैभरि जाडो भैरहन्छ । चिसोे क्षेत्रमा महत्वपूर्ण जडिबुटी पाइन्छन् । ५१ प्रतिशत क्षेत्र जंगलले ढाकेको गौमुखीमा, पाँचऔंले, तिते, शिलाजित, बर्रो, तकाले लगायतका जडिबुटी पाइन्छन् । खोज तथा अनुसन्धान गर्ने हो भने यहाँ अझै धेरै जडिबुटी पत्ता लाग्ने वडाअध्यक्ष डोरबहादुर राना बताउनुहुन्छ ।

यस्तै कालोबाँदर, थार, घोरल, बनकुकुर, चितुवा, ब्वाँसो, भालु, मलसाँप्रो, भार्से लगायतका वन्यजन्तु गौमुखीको जंगलमा पाइन्छ ।

कसरी पुग्ने गौमुखी ?

प्यूठानको स्वर्गद्धारी दर्शन गर्न पुगेको बेला गौमुखी जानको लागि उत्तम समय हुन सक्छ । काठमाण्डौबाट झण्डै पाँच सय किलोमिटर टाढा रहेको गौमुखी जान साह्रै अप्ठ्यारो पनि छैन । प्यूठानको मुख्य व्यापारिक केन्द्र बाग्दुलाबाट ३६ किलोमिटरको यात्रापछि ठूलाबेसी  पुगिन्छ ।

ठूलाबेसीसम्म पुग्न दैनिक ६/६ वटा यात्रुबहाक जीप र त्यत्ति नै संख्यामा बस छुटछन् । काठमाण्डौबाट पनि दैनिक २ वटा बस ठूलाबेसीको लागि छुट्छन । ठूलाबेसीबाट आधा घन्टाको जीप यात्रापछि अर्खा पुगिन्छ । अर्खाबाट आधा घन्टा हिँडेपछि गौमुखी पुगिन्छ । राम्रा होटल नभए पनि गाउँमा जे उपलब्ध छ, त्यसैको उपयोग गरेर गाउँलेले न्यानो स्वागत गर्छन् ।


 

अन्तिम अपडेट: जेठ ९, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया