एकधुर जग्गाको झुपडीमा तीन परिवारको बास,  जेठो छोराको भागमा शौचालयमात्र

 बैशाख १५, २०७६ आइतबार १२:५१:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा- एकधुर जग्गामा सानो छाप्रो छ । ओत लाग्न छानामा खर, पराल र प्लास्टिकले जसोतसो टालटुल पारिएको छ । त्यही सानो झुपडीको बीचमा घाँसले छेकवार गरी तीनवटा ढोका ठडाइएको छ । ढोकादेखि भित्रसम्म गल्लीजस्तै खाली ठाउँ छ, जहाँ एउटा ढोकाकै अगाडि शौचालय देख्न सकिन्छ । 

झुपडीमा तीनवटा ढोका बनाइएको भए पनि भित्र भने सहजै बस्न सक्ने ठाउँ छैन । खुट्टा पसार्दा बस्न र सुत्न सक्ने अवस्था छैन । तर त्यही झुपडीभित्र खाने, लाउने, बस्ने सुत्ने सबै काम गर्नुपर्छ धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ की पानोदेवी दास तत्माकी ३ छोराको परिवारलाई ।

खुट्टा तन्काएर बस्नसमेत नसकिने सानो झुपडी छोराहरु छुट्टिएपछि एकआपसमा बाँडफाँड समेत गरिसकेका छन् । त्यसैमा पानो देवी दासको भागमा परेको छ, सानो गल्लीजत्तिकै ठाउँ । त्यसमा भने ढोका लगाइएको छैन ।

पानोदेवीका जेठा छोरा श्रीचन्द्र दासका दुई छोरी, एक छोरा र श्रीमतीगरी पाँच जना सदस्य छन् । माहिलो छोरा चन्देश्वरका श्रीमती र एक छोरी गरी तीन जना तथा कान्छो छोरा विन्देश्वरका श्रीमती र एक छोरी गरी तीन जना छन् । पानोदेवीको तीन छोरा, तीन बुहारी र ५ जना नाति नातिना गरी  १२ जना सदस्य त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन् ।

वर्षाको बेला झन् बिजोग हुन्छ । माथिबाट पानी चुहिन्छ, तल पानी पसेपछि उनीहरुलाई पाइला राख्ने समेत ठाउँ हुँदैन । तर पनि जेनतेन यसैमा गुजारा गर्ने गरेको पानोदेवी बताउनु हुन्छ ।

दुई वर्षअघि गाउँलाई खुला दिसामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गर्ने क्रममा उहाँको घरमा पनि शौचालय निर्माण गरिएको थियो । छोराहरु छुट्टिँदा जेठो छोराको भागमा शौचालय पर्‍यो । त्यसपछि त्यो शौचालयमा शौच गर्ने कि बस्ने भन्ने कुनै उपाय लागेन । बाध्य भएर जेठो छोराले बस्नको लागि शौचालय नै पुर्नु परेको स्थानीय रामकरण दासको भनाइ छ । अहिले शौचालय पुरिएपछि पानोका परिवार चौरको खुला स्थानमा नै शौच गर्न जाने गरेका छन् ।  

गरिबीको कारण गाउँका साहुहरुले ऋण नदिँदा पानोका तीन जना छोराहरु विदेश जानसमेत पाएका छैनन् । सबै छोराहरु गाउँमै दैनिक ज्याला मजदुरीमा काम गर्ने गरेका छन् । विदेश जान पाएको भए परिवारको आर्थिक अवस्था सुधार हुने र जग्गा किनेर घर ठड्याउन पाइने उनीहरुको आशा थियो । तर ऋण नपाउँदा उनीहरुको आर्थिक अवस्थामा सुधार हुनसकेको छैन ।

‘हामीलाई बस्ने ठाउँ समेत छैन । साहु महाजनले विश्वास गरेर ऋण दिँदैनन् । पैसाको अभावमा पासपोर्ट बनाउन सकेको छैन । विदेश जान कसरी सम्भव छ ? ’ आगनमा साबेको डोरी बनाउँदै गरेका माहिला छोरा चन्देश्वरले भन्नुभयो ‘चुनावमा नेताहरु जग्गा खोजेर घर बनाइदिने, रोजगारमा लगाइदिने आश्वासन दिएर जान्छन् । जितेर गएपछि फर्केर आउँदैनन् । हाम्रो त जिन्दगी नै यसरी कट्ने हो ।’

स्थानीय सोम सहदा समूहका अध्यक्ष रामकरण दास भन्नुहुन्छ, ‘चुनावमा उम्मेदवारहरु आउँदा विभिन्न प्रलोभन दिन्छन् र एक/दुई हजार रुपैयाँ दिएर भोट किनिहाल्छन् ।’ पानोका तीनै छोराको परिवार घरको अभावमा निकै कष्टपूर्ण जीवन बिताइरहेका छन् तर जितेर गएका जनप्रतिनिधिहरु मुखदर्शक मात्र भएका छन् ।

जेठो छोरा श्रीचन्द्रको परिवार पाँच जनाको भएकाले घरभित्र खाना पकाउन चुल्हो समेत नअट्ने भएपछि गाउँलेहरुले मिलेर ग्यास चुल्होको व्यवस्था गरिदिएका छन् ।

झुपडी बाहिर पाइला टेक्ने सम्मको जग्गा छैन । थोरै खाली जग्गा छ । छिमेकले कहिलेकाहीँ छेकवार लगाइदिँदा उठबस गर्नसमेत समस्या हुन्छ, पानोदेवी परिवारलाई । छोराहरुको लागि कही सहयोग गरिदिन पानोदेवीले सरकारसँग गुहार समेत गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Rajani Kant Jha

    April 29, 2019, 9 a.m.

    खै जनता आवास ?

  •  0 Reply

तपाईको प्रतिक्रिया