डोटीका सयौँ सरकारी धर्मशाला व्यक्तिकाे कब्जामा

 साउन ८, २०७६ बुधबार २०:३५:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लामा भएका सयौँ सरकारी धर्मशालाहरु पछिल्लो समय केही व्यक्तिहरुले आफनो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ ।

यसरी सरकारी धर्मशाला वर्षौँदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै कदम नचालेको स्थान‍ीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाहरुको उचित संरक्षण नहुँदा बर्सेनि जीर्ण बन्दै गएका छन् ।

यसै सिलसिलामा दिपायल सिलगढी नगरपालिका-३, पुलबजारमा रहेको राणाकालमा बनेकाे सरकारी धर्मशाला एक व्यक्तिले आफनो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ । तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायल लगायतका ठाउँहरुमा आवत जावत गर्ने नागरिकहरुलाई बास बस्न सजिलो होस् भन्ने उदेश्यले निर्माण गरिएको धर्मशाला वर्षौँदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफनो निजी आवासको रुपममा प्रयोग गरेकाे पाइएकाे हाे ।

भारतीय नागरिक घचेट्टाले धर्मशालाकाे कोठाभित्र आफु बस्ने र बाहिर चौरमा आफना खच्चरहरु बाँध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घचेट्टाले धर्मशालालाई निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैलेपनि प्रयास गरेको छैन ।’

त्यस्तै शिखर नगरपालिका-१, नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व. वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले लाएको पक्की धर्मशाला पनि निजी आवास जस्तै भएको छ । त्यस धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ बनाएर बसेका भैँसी गोठालाहरुले वर्षाैँदेखि भैँसी बाँध्ने काममा प्रयोग गर्दै आएको स्थानीय गुठेउडीका बासिन्दा करन नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे, अहिले व्यक्तिले निजी बनाएको छ,कसैले किन व्यक्तिगत बनाइस् भनेर कुरा उठाएके छैन ।’

त्यस धर्मशालाको बाटो हुँदै आवत जावत गर्नेलाई बास बस्न सजिलो होस् भन्ने उदेश्यले सरकारले केही थान खटिया तथा बिस्तरा समेत उपलब्ध गराएको थियो । त्यस धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारीका लागि रकम आउन छोडेपछि धर्मशाला व्यक्तिहरुले कब्जा गर्न थालेको स्थानीयकाे भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटी पौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन ठाउँमा भएको धर्मशाला कस्ले प्रयोग गरेको छ, त्यो सम्बन्धित पालिकाले रेखदेख गर्नुपर्छ, संरक्षण गर्नु पनि उस्को दायित्व हुन आउँछ, कसैले अटेर गरी निजी प्रयोजन गरेको भए कानुन बमोजिम सजाय हुन्छ ।’

जिल्लाभरमा कुल एक सयभन्दा बढी सरकारी धर्मशाला,पाटी पौवा हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । जिल्लामा भएका सरकारी धर्मशालाको समयमै उचित मर्मत सम्भार नगरे अबको केही समयपछि यहाँका सरकारी धर्मशालाहरुकाे अस्तित्व विलिन हुने निश्चित छ । 

अन्तिम अपडेट: भदौ १०, २०७६

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया