नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स

 साउन ३१, २०७६ शुक्रबार ७:५४:१८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – नुनदेखि सुनसम्मको लागि विदेशकै भर पर्नुपर्ने नेपालले नुन र सुनभन्दा पनि निकै महत्वपूर्ण आँखाको ज्योति फर्काउने लेन्स विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।

मोतीबिन्दु रोग लागेपछि आँखाको दृष्टि नै गुम्न सक्छ । फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशमा गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र रातमा आँखा नदेख्ने हुन्छ ।

प्रायः बढ्दो उमेरसँगै देखिने मोतीबिन्दु दुर्घटना तथा जन्मजात पनि हुन सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल निर्देशक डाक्टर कमलबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार मोतीबिन्दु भएपछि शल्यक्रिया गरेरै उपचार गर्नुपर्ने हुन्छ । अरु औषधिले मोतीबिन्दु निको हुँदैन । शल्यक्रिया गरेर आँखामा कृत्रिम लेन्स राखेपछि ज्योति फर्किन्छ ।

मानिसको आँखामा प्राकृतिक लेन्स हुन्छ । त्यही प्राकृतिक लेन्स अपारदर्शी भएपछि नदेख्ने समस्या हुन्छ । प्राकृतिक लेन्सलाई झिकेर कृत्रिम लेन्स अर्थात् इक्ट्राअकुलर लेन्स राखिन्छ । नेपालमा कुल जनसंख्याको झण्डै शून्य दशमलव २ प्रतिशत नागरिक मोतीबिन्दुको समस्याबाट पीडित रहेको अनुमान छ ।

विश्वभर हुने अन्धोपनको झण्डै ३३ प्रतिशत आँखाको कमजोरी मोतीबिन्दुका कारणले हुने गरेको छ । तर मोतीबिन्दुबाट दृष्टि गुमाएका बिरामीका लागि चाहिने लेन्स भने नेपालमै उत्पादन हुन्छ । नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले कृत्रिम लेन्स बनाउने गर्छ । नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ चाहिँ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।

२०५२ सालअघि उपचार महंगो

नेपालमा २५ वर्षदेखि आँखाको लेन्स उत्पादन हुँदै आएको छ । मोतीबिन्दुका बिरामीलाई चाहिने लेन्स भने तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्छ । अष्ट्रेलियामा रहेको फ्रेडल फाउन्डेसनको प्राविधिक सहयोगमा तिलगंगा आँखा अस्पतालमा आँखाको कृत्रिम लेन्स उत्पादन सुरु गरिएको हो ।

२०५२ सालअघि भने लेन्स महँगोमा किन्नुपर्ने बाध्यता थियो । विश्वबजारमा एक सय ५० देखि २ सय डलरसम्म पर्ने लेन्स नेपालीको पहुँचमा थिएन । मोतीबिन्दु भएपछि धेरै अन्धकारमै बस्थे ।

२०४९ सालमा तिलगंगामा लेन्स उत्पादन गर्ने ल्याब जडान भएको हो । सबै प्रक्रिया पुरा भएपछि २०५३ सालबाट लेन्सको बिक्री वितरणको थालनी भयो । यससँगै नेपाल आँखाको लेन्स उत्पादनमा दक्षिण एसियाकै पहिलो देश बन्न सफल भयो । नेपालीले पहिलेको तुलनामा निक्कै सस्तोमा लेन्स पाउन थाले । लेन्समा सबैको पहुँच हुँदै गयो ।

तिलगंगामा लेन्स उत्पादन हुन थालेपछि विदेशी कम्पनीबाट समेत माग हुन थाल्यो । त्यसपछि लेन्स निर्यात सुरु भयो । उत्पादनको ४० प्रतिशत देशभित्र अनि ६० प्रतिशत लेन्स देश बाहिर जान थाल्यो ।

सुरुमा तिलगंगाले एउटा लेन्स तीन डलरमा उत्पादन गरेर विश्वबजारमा १५/२० डलरमा पठाउने गरेको र पछि उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य पनि घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत बताउनुहुन्छ ।

डाक्टर रुइत भन्नुहुन्छ ‘तिलगंगा आँखा अस्पतालले कृत्रिम लेन्स उत्पादन गर्न थालेपछि सहज भयो । यो लेन्स बजारमा आउन थालेसँगै नेपालका बिरामी मात्र होइन, अरु देशका नागरिकको समेत उपचार सहज र सस्तो भएको छ । तिलगंगाको ल्याबमा बन्ने आँखाको लेन्स अहिले विश्वका उत्कृष्ट लेन्समध्येमा पर्छ ।’ 

अहिलेसम्म झण्डै विश्वका विभिन्न देशका नागरिकले तिलगंगाको ल्याबमा बनेको ५३ लाख लेन्स प्रयोग गरिसकेका छन् ।

अहिले ७० देशमा पुग्छ 

नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।

यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन भएको छ ।

सन् १९९६ देखि २०१८ सम्ममा ४७ लाख २ हजार वटा पीएमएमए र ९ लाख ३३ हजार फोल्डेबल लेन्स उत्पादन भएको छ । झण्डै ४ सय रुपैयाँ लागत लाग्ने लेन्स नेपाली नागरिकले २ सय २५ रुपैयाँमा पाउँछन् । नेपालमा सस्तोमा लेन्स दिँदा हुने घाटालाई तिलगंगाले विदेश पठाउने लेन्सबाट उठाउँछ ।

लेन्स उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर रुइत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनबेला कृत्रिम लेन्स महंगो थियो हामी आफैले हाम्रो भूगोल सुहाउँदो लेन्स बनाउनुपर्छ भनेर लाग्यौं, त्यसैको प्रतिफल अहिले लेन्स नेपालमै उत्पादन गरेर उपचार सहज बन्यो, त्यो पनि गुणस्तरमा कमजोरी छैन ।’

तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट सीई मार्क तथा आईएसओ सर्टिफाइड छ । आईएसओ मार्क प्राप्त गर्ने तिलगंगा दक्षिण एसियाकै तेस्रो अस्पताल हो । सन् २०१२ मा अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयले गरेको इन्ट्राअकुलर लेन्सको प्रयोगसम्बन्धी अध्ययनमा समेत नेपाली लेन्सको गुणस्तरले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ ।

यसले नेपाली उत्पादनको थप विश्वसनीयता बढेको छ । विश्व बजारको माग हेर्ने हो भने नेपालले वार्षिक १० लाख उत्पादन गर्न सके पनि सबै खपत हुने डाक्टर रुइतको दाबी छ ।

आँखा उपचारमा डाक्टर रुइत र तिलगंगाको योगदान

डाक्टर रुइतले तिलगंगालाई विश्वकै एक उत्कृष्ट आँखा अस्पतालको रुपमा परिचित गराउनुभएको छ । उहाँले विकास गरेको उपचार पद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै देशले अपनाउने गरेका छन् । आँखाको क्षेत्रमा उत्कृष्ट काम गरेबापत डाक्टर रुइत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुनुभएको छ ।

आँखाको क्षेत्रमा विशिष्ट योगदान गरेकै कारण डाक्टर रुइत सन् २००६ मा नोबेल पुरस्कार मानिने रमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुनुभयो । साथै ६९औँ गणतन्त्र दिवसको अवसरमा २०७४ सालमा भारत सरकारले डाक्टर रुइतलाई पद्मश्री पुरस्कारबाट सम्मान गर्यो । पद्मश्री पाउने डाक्टर रुइत दोस्रो नेपाली हुनुहुन्छ ।यसअघि अनुराधा कोइरालाले भारतको ६८ औँ गणतन्त्र दिवसको अवसरमा पद्मश्री सम्मान पाउनुभएको थियो ।

साथै तिलगंगा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य संगठनबाट हालै समन्वय केन्द्रको मान्यता पनि पाएको छ । आँखा उपचार सेवामा यसरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को समन्वय केन्द्र मान्यता पाउने प्रतिष्ठान नेपालको पहिलो संस्था हो । 

योसँगै नेपालले आँखा स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक फड्को मारेको छ । संगठनले ८० देशका ८ सय केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । 

समन्वय केन्द्र भएसँगै आँखा उपचार सेवा, तालिम, जनशक्ति उत्पादनले समेत अन्तर्राष्ट्रिय मान्यता पाएको छ । साथै पैसा नभएका कारण, उपचारमा पहुँच नपुगेकै कारण कोही पनि आँखा देख्नबाट बञ्चित हुन नपरोस् भन्ने आँखा अस्पताल र सिङ्गो टिमको मुख्य उद्देश्य रहेको डाक्टर रुइत बताउनुहुन्छ ।

यो पनि पढ्नुहाेस्

-उज्यालाेकाे विशेष श्रृङ्खला 'ज्योतिर्गमय नेपाली आँखा' अन्तर्गतकाे याे दाेस्राे भाग हाे । यसकाे बाँकी भाग शनिबार प्रकाशित हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७६

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • Nabin

    Aug. 18, 2019, 1:46 a.m.

    हो यहीँ बिसयले त मलाई मेरो नेपाल महान छ भन्न मन लाग्छ ! धन्यवाद डिआर सन्दूक रुइत सर 🙏 हजुर सधैं महान हुनुहुन्छ 👍️😍

  •  0 Reply

तपाईको प्रतिक्रिया