गोजीमा पैसा नबोक्नुस्, बाआमालाई पनि सकेसम्म नोट नदिनुस्

 असोज १३, २०७६ सोमबार १२:५५:५ | लेखनाथ भुसाल
unn.prixa.net

दशैँमा बजार चलायमान हुन्छ । सबैको हातहातमा पैसा हुन्छ । बैंकमा पनि बचत गर्ने कम र पैसा झिक्ने धेरै हुन्छन् । हर्ष र उमंग साट्ने चाड भएकाले पनि पैसा खर्च हुनु स्वभाविक नै हो । तर दशैँमा पैसा खर्च गर्दा चनाखो हुनुपर्छ । एउटा सुरक्षामा ध्यान दिनुपर्छ भने अर्को खर्च नियन्त्रण गर्न जान्नुपर्छ ।

सबैभन्दा पहिले नयाँ नोटको कुरा गरौं । अहिले धमाधम नयाँ नोट सटहीको काम भैरहेको छ । अरु बैंकले जस्तै नेपाल बैंकले पनि आफ्ना विभिन्न शाखाबाट नयाँ नोट साट्ने काम गरिरहेको छ । नयाँ नोट साट्ने बेला आफूलाई जति आवश्यक हो, त्यति मात्र साटौँ ।

अहिले एकजनाले ५, १०, २०, ५० र १०० को एकएक बण्डल गरेर जम्मा १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइन्छ । तर आफूलाई त्यति चाहिँदैन भने सबै साट्नु पनि पर्दैन । थोरै साट्दा हुन्छ । पैसा लगेपछि ब्याज आउँदैन । अनावश्यक खर्च हुन सक्छ ।

साट्ने क्रममा सुरक्षामा ध्यान दिऔं । बैंकमा पैसा साटिसकेपछि झोलामा सुरक्षित राखौं । गाडीमा हिँड्दा या पैदल जाँदा सजक हुनुपर्छ । यस्तो बेला चोरी पनि हुन सक्ने भएकाले विशेष ख्याल गर्नुपर्छ ।

त्यसो त नयाँ नोट मात्र होइन, बजारमा किनमेल गर्न जाँदा पनि पैसाको सुरक्षामा ध्यान दिनुपर्छ । गोजीमा टन्न पैसा बोकेर जाँदा चोरी हुने, हराउने डर हुन्छ । त्यसैले ठूला सपिङ सेन्टरमा किनमेल गर्न जाँदै हुनुहुन्छ भने खल्तीमा पैसा नबोक्नुहोस् । सपिङ सेन्टरमा  कार्ड या अरु प्रविधिमार्फत पैसा तिर्न सकिन्छ ।

हिजोआज धेरै बैंक प्रविधिमैत्री भैसकेका छन् । गोजीमा पैसा नबोकेर जाँदा पनि हुन्छ । क्यूआर कोर्ड भन्ने छ । स्क्यान टू पे भन्ने छ । कनेक्ट आइपीएस भन्ने सुविधाहरु छ । भिसा डेबिट कार्ड छ । ठूला व्यापारिक केन्द्रमा यिनै सुविधा प्रयोग गरेर पैसा दिन सकिन्छ । कार्डबाटै हुन्छ ।

गोजीमा पैसा नबोक्दा धेरै फाइदा हुन्छ । एउटा हराउने डर हुँदैन । अर्को गोजीमा पैसा नभएपछि धेरै खर्च हुने डर पनि हुँदैन । सबैलाई थाहा छ कि गोजीमा पैसा भएपछि जे देखे पनि किनौं किनौं लाग्छ । तर कार्ड या अरु प्रविधिबाट तिर्ने भएपछि आवश्यक ठाउँमा मात्र खर्च हुन्छ । त्यसैले सकेसम्म यस्ता प्रविधिको प्रयोग गरौं । यस्ता प्रविधिमार्फत भुक्तानी गर्न नसकिने ठाउँको लागि मात्र गोजीमा पैसा बोकौं । तर धेरै नबोकौं । आवश्यक मात्र बोकौं ।

घरमा बाआमा, दिदी दाइ या अरु सदस्यलाई पैसा दिनु छ भने पनि नोट नै दिनु पर्दैन । अहिले त सबैको आआफ्नो बैंक खाता हुन्छ । उहाँहरुको बैंक खातामै पैसा जम्मा गरौं । अनि भनाैँ, तपाईँको खातामा मैले यति पैसा राखिदिएको छु भनेर । त्यसमाथि आफ्नो खातामा पैसा कति जम्मा भयो भनेर धेरैको मोबाइलमा एसएमएस पनि आउँछ ।

हुन त नोट नहुँदासम्म दिनेलाई पनि चित्त बुझ्दैन, लिनेलाई पनि चित्त बुझ्दैन । तर यो बानी सुधार्नुपर्छ ।

मेरो आग्रह के हो भने सकेसम्म नोट बोकेर नहिँडौं । आवश्यक पर्दा मात्र बोकौं । बैंकहरुका प्रविधिबारे थाहा पाउँ । प्रविधिको धेरै प्रयोग गरौं । खर्चभन्दा बचतमा ध्यान दिउँ । अझ युवाहरुलाई बचतमा ध्यान दिन मेरो विशेष आग्रह छ । अहिले बचत गर्दा भविष्य सुरक्षित हुन्छ ।

दशैँमा बैंकबाट पैसा झिक्ने मात्र हुँदैनन्, बचत गर्न आउनेहरु पनि धेरै हुन्छन् । यो बेला कर्मचारीको दशैँ बोनस आउने भएकाले उनीहरुले जम्मा गर्छन् । व्यापारी, व्यवसायीले पनि बचत गर्छन् । तुलनात्मक रुपमा कर्मचारीले बढी खर्च र व्यवसायीले बढी बचत गर्छन् ।

खर्चभन्दा बचतमा ध्यान दिनुपर्छ । बजारमा अहिले मूल्यवृद्धि छ । मूल्यवृद्धि नियन्त्रण गर्न सकिँदैन । तर तपाईंको गोजीमा कति पैसा छ, कति खर्च गर्ने भनेर तपाईँले निर्णय र नियन्त्रण गर्न सक्नुहुन्छ ।

खर्च कम गरौँ, बचत गरौँ । बचत भनेको पनि खर्च नै हो । खर्च रोकियो भने भोलि अप्ठ्यारो पर्दा सजिलो हुन्छ ।

बचत गर्ने बेला बैंकका अफर र योजनाबारे जानकारी लिने गरौं । बैंकका विभिन्न निक्षेप योजना हुन्छन् । युवा बचत, महिला उद्यमी, ज्येष्ठ नागरिक लगायतका विशेष बचत खातामा ब्याजदर पनि बढी हुन्छ । बैंक छान्दा बैंकको अवस्था र ब्याजदर तथा सुविधा हेर्नुपर्छ । तर सुरक्षामा पहिले ध्यान दिनुपर्छ । 

(नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक लेखनाथ भुसालसँग मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १४, २०८१

लेखनाथ भुसाल

भुसाल नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया