सी एण्ड शो : आफ्नो नाम र नेपालीको काम देखेर सी जिनपिङ तीनछक्क !

 असोज २५, २०७६ शनिबार ८:२४:२५ | मिलन तिमिल्सिना
unn.prixa.net

चीनका राष्ट्रपति भवनको भन्दा पनि भव्य कोठा । टेबुलमा थरिथरीका फूल र दुई देशको झण्डा । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न व्यग्र प्रधानमन्त्री । नेपालका प्रधानमन्त्रीसँग हात मिलाउन आतुर राष्ट्रपति ।

देख्नेबित्तिकै प्रधानमन्त्रीले हात मिलाए, अंकमाल गरे । नमस्कार मात्र होइन, मुठ्ठी उठाएर अभिवादन गरे । दुवै मुसुक्क हाँसे । तस्बिर खिचाए । त्यसपछि सुरु भयो भलाकुसारी ।

‘पहिलोपटक आउनुभएको, कस्तो लाग्यो त नेपाल ?’ मुसुक्क हाँस्दै नेपालका प्रधानमन्त्रीले सोधे ।

‘अचम्म मात्रै होइन, उल्कै अचम्म लाग्यो । हाम्रोमा त एउटा ग्रेटवाल मात्र छ, यहाँ त कति धेरै फ्लेक्सवाल रहेछ । नेपालमा सानदार पहाड, नदी र विशिष्ट संस्कृति छ भन्ने थाहा थियो । तर विकासले पनि फड्को मारेछ । चमत्कार भएछ । एकछिन त म नेपाल नभएर अरु कुनै देश या आफ्नै चीनको कुनै शहर पुगेजस्तो लाग्यो । नेपालको विकास र चमत्कारको कुरा एकछिनमा गरौंला । पहिले मेरो नाम देखेर र सुनेर आफै अलमलमा परें । कसैले पिङ भन्दा रहेछन्, कसैले फिङ’, राष्ट्रपतिले भने ।

‘रेलजस्तो कुरो आजको भोलि कहाँ हुन्छ ? साँच्चिकै मान्छे चढ्न मिल्ने रेल ल्याउन त अलि गाह्रै छ । खेलौना हो भने अहिल्यै सकिन्छ, पठाइदिम् ?’ चिनियाँ राष्ट्रपतिले भने ।

प्रधानमन्त्री मुसुक्क हाँसे र भने, ‘जे सजिलो हुन्छ, हामी त्यही भन्छौँ । कसैले फिङ पनि भन्दा हुन् । तर अरु धेरैले जस्तै म पनि तपाईँलाई पिङ नै भन्न रुचाउँछु । किनकी म नेपाली शब्द र नेपाली चालचलन, संस्कार अनि पुराना कुरालाई औधी मन पराउँछु । नेपाली भाषामा फिङको अर्थ हुँदैन । त्यसैले तपाईँको चीनमा तपाईं फिङ, पिङ, सिङ, हिङ जे भने पनि यहाँचाहिँ पिङ मात्रै हो । त्यसमाथि यहाँ दशैँको ह्याङ बाँकी नै छ । रोटेपिङ, जाँतेपिङ, लठारेपिङ भनेझैँ जिनपिङ ।’

‘पिङ भनेको के नि ?’ चिनियाँ राष्ट्रपतिलाई खसखस लाग्यो ।

‘दशैँको बेला रमाइलोको लागि खेलिने खेल हो । एकछिनलाई आनन्द । आकाशमा उडेजस्तो, धरती छोडेर अन्तै पुगेजस्तो । थरिथरीका पिङ हुन्छन् । कुनै काठका, कुनै डोरीका । अनि ‘नमच्चिने पिङको सय झड्का’ भन्ने उखान पनि छ । अहिले हजुर आउने भएपछि यस्तै भएको छ, पिङ मच्चिने हो कि होइन थाहा छैन । तर धेरैले सयौँ होइन, हजार झड्का लगाइसके । कोही रेल र तेल चाहिन्छ भन्छन्, कोही चाहिँदैन भन्छन् । हामीचाहिँ तेलभन्दा पहिले रेल चाहन्छौँ । तपाईँ आउने भनेपछि मच्चिरहेका छौं । पिङ खेलेझैँ एकछिन उडेको कल्पना गर्दैछौँ ।’

रोटेपिङ र जाँतेपिङ घुमेजस्तो र्‍याईं र्‍याईं गिदी घुमाउने प्रधानमन्त्रीको कुरा राष्ट्रपतिले उति मेसो पाएनन् । अघि आउँदा चिल्ला र झकिझकाउ सडक देखेर सोचमग्न भए । मनमनले सोचे, ‘नेपाल गरिब छ, विकासमा पछि परेको छ भन्ने कुरा त गलत रहेछ । नेपालले त विकासमा फड्को मारेछ, चमत्कार गरेछ ।’

राष्ट्रपति सोचमग्न भएको देखेर प्रधानमन्त्रीले भने, ‘तपाईँ पक्कै अघि आएको बाटो सम्झेर अचम्ममा पर्नुभयो होला । हेर्नुहोस्, तपाईंहरु चामत्कारिक विकासका काम गरेर विश्वलाई आश्चर्यमा पार्नुहुन्छ । लोभलाग्दो सडक, पुल, रेलवे, विमानस्थल बनाउनुभएको छ । हामी पनि कमका छैनौं । रातारात चमत्कार गरेर देखाउन सक्छौं ।’

‘तर हामीलाई त वर्षौं वर्ष लागेको थियो, यहाँचाहिँ कसरी रातारात सम्भव भयो ?’ चिनियाँ राष्ट्रपतिलाई अचम्म लाग्यो ।

सुनेर प्रधानमन्त्री मुसुक्क हाँसे । अनि भने, ‘हेर्नुहोस् हामी नेपाली घरमा आएका पाहुनालाई देखाउन उतिखेरै जे पनि गर्न सक्छौं । घरभित्र चामलको गेडो नभए पनि पाहुना आउँदा वल्लो, पल्लोघरमा मागेर पनि चामलकै भात पकाउँछौं । खाटमुनि माकुराको जालो र कसिंगरको डुंगुर भए पनि खाटमाथि गलैँचा ओच्छ्याउँछौं । पाहुनाको आँखा पुग्ने ठाउँजति सबै चिटिक्क बनाउँछौं । भित्र खोक्रो भए पनि बाहिर बोक्रो देखाउन हामी कोहीभन्दा कम छैनौं ।’

राष्ट्रपति ‘हजुर...हजुर’ भनेर मुन्टो हल्लाउँदै थिए । प्रधानमन्त्रीले फेरि थपे, ‘अरु पाहुना आउँदा त चिटिक्क बनाउँछौँ भने तपाईंको त नामै सी । सी भनेको हेर्ने, हेर्ने पाहुनालाई त झन् बढी देखाउनु पर्‍यो। त्यसैले पहिले भारतका पाहुना आउँदा तीनकुनेमा कपडाले ढाकेका थियौँ । यसपालि त त्योभन्दा बढी गर्यौँ । रातारात बगैँचा बनेको छ त्यहाँ । अन्त पनि त्यस्तै छ । एककिसिमले भन्दा सीलाई शो हो यो हाम्रो ।’

प्रधानमन्त्रीको कुरा सुनेर राष्ट्रपति मुसुक्क हाँसे । ‘ठिक छ मलाई शो गर्नु त धेरै राम्रो हो । तर मेरो सीपथ चाहिँ यस्तो टालटुले शो मात्रै होइन । भरपर्दो र टिकाउ पनि हो’ राष्ट्रपतिले भन्न नभ्याउँदै प्रधानमन्त्री हाँसे, ‘चिनियाँ सामान कत्तिको टिकाउ र भरपर्दो हुन्छ भन्ने त नेपालीलाई राम्रोसँग थाहा छ हजुर । अहिलेको हाम्रो कामलाई चिनियाँ विकाससँग नदाँजौं, चिनियाँ सामानसँग दाँजौं । जस्तो चीनको सामान, उस्तै अहिलेको झकिझकाउ ।’

कुरा सुनेर सीलाई झनक्क रिस उठ्न लागेको थियो । तर पाहुना लाग्न आउँदा रिसाउन हुँदैन भनेर नम्र हुँदै भने, ‘हाम्रा केही सामान कच्चा होलान्, तर विकास निर्माणको काम चाहिँ पक्का छ । सीपथ पढेको मान्छेले चिनियाँ विकासको कुरा छाडेर सामानको कुरा गरेको अलि सुहाएन । अस्ति प्रशिक्षणमा तपाईँलाई सीपथ राम्रोसँग पढाएनन् क्यारे । सुन्नुहोस् सीपथ भनेको.......’

‘पर्दैन हजुर, हामी ऋषिमुनि र विद्वानको सन्तानलाई यस्ता दर्शन छाँट्नै पर्दैन । सबै आउँछ । संस्कृतदेखि अंग्रेजीसम्म, माक्र्सदेखि माओसम्म, सीदेखि शोसम्म सबै कण्ठ छ’ प्रधानमन्त्रीले पाहुनाको कुरा बीचमै काटे । र फेरि भने, ‘ठिकै छ, विकासकै कुरा गरौं । रेलको टिकट काटेर तयार हुनु भनेर अघिल्लो वर्ष नै भनिसकें । रेलको कार्यालय नि खोलिसकें । अब त रेल आएन भने लाजै मर्नु भैसक्यो । केही गर्नुपर्यो हजुर’ प्रधानमन्त्रीले हात जोडे ।

‘रेलजस्तो कुरो आजको भोलि कहाँ हुन्छ ? साँच्चिकै मान्छे चढ्न मिल्ने रेल ल्याउन त अलि गाह्रै छ । खेलौना हो भने अहिल्यै सकिन्छ, पठाइदिम् ?’ चिनियाँ राष्ट्रपतिले भने ।

‘हेर्दा खेलौनाजस्तो चाहिँ नहोस्, साँच्चिकै रेलजस्तै लागोस् । अहिले तपाईँलाई शो गरेजस्तै होओस् न, झट्ट हेर्दा हो जस्तो, गहिरिएर हेर्दा हैनजस्तो । अहिलेलाई यति भए पनि हाईसञ्चो हुन्थ्यो’ प्रधानमन्त्रीको कुरा सुनेर राष्ट्रपति अचम्ममा परे ।

राष्ट्रपति टोलाएको देखेर प्रधानमन्त्रीले फेरि भनें, ‘सोधीखोजी गरे भने चिनियाँ रेल यस्तै हो भनिदिउँला नि ।’

नेपालका प्रधानमन्त्रीसँग कुरा गरेर नसकिने रहेछ भन्दै राष्ट्रपति बिदा भएर निस्के । प्रधानमन्त्रीले हात हल्लाउँदै भने, ‘सी यू, शो यू ।’

अन्तिम अपडेट: कात्तिक २९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया