अमेरिकाले भिसा दिएन, तर आफ्नै 'सोचाइ'ले संसारभर चिनायो !

 कात्तिक २, २०७६ शनिबार १३:१३:७ | सजना तिमल्सिना
unn.prixa.net

बोनिता शर्माले गएको असोज २४ गते आफ्नो २८औँ जन्मदिन मनाउनुभयो । यस  वर्षको जन्मदिन उहाँको लागि विशेष मात्रै बनेन, ऐतिहासिक र अविस्मरणीय नै रह्यो ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले विश्वकै उत्कृष्ट प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालबाट बोनिता शर्मालाई समेट्यो । यस वर्षका विश्वका प्रभावशाली १०० महिलाको सूचीमा बोनिता ७५औँ नम्बरमा हुनुहुन्छ ।

बीबीसीले पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधामा एक सय जना महिलाको सूची सार्वजनिक गर्दै आएको छ । जसमा गएको वर्ष बादी समुदायकी नेतृ उमादेवी बादी विश्वकै प्रभावशाली महिलामध्ये १० औँ नम्बरमा हुनुहुन्थ्यो ।

यस वर्ष भने काठमाण्डौको बौद्धमा जन्मएकी बोनितालाई बीबीसीले ज्ञान विधाको श्रेणीमा ७५औँ नम्बरमा समेटेको छ । कुपोषण र भोकमरीको अवस्था अन्त्य गर्नका लागि नेपालमा बोनिताले पुर्‍याएको योगदानको बीबीसीले मूल्यांकन मात्रै गरेन, सयौँ राजनीतिक र आर्थिक हैसियतका नेतृलाई पछि पार्दै विश्वकै एक सय सूचीमा समावेश गर्‍यो । जसले नेपालमा आफ्नै कर्ममा रमाइरहेकी तर गुमनाम जस्तै रहेकी बोनिता शर्मालाई रातारात चर्चामा पुर्‍यायो ।

एउटा ‘सोचाइ’ले दिलाएको सफलता !

बोनिताको बाल्यकालदेखि अहिलेको युवा कथा आफैमा रोचक, घोचक र संघर्षपूर्ण छ । तर यी सबैको पर्यायलाई एउटा सशक्त अभियन्ताका रुपमा चिनाउने कारक तत्व चाहिँ उहाँको आफ्नै सोच बन्यो । जसलाई उहाँले एक शब्दमा ‘सोचाइ’ नामाकरण गर्नुभयो । जसको पूरा अर्थ हो, ‘सोसल चेन्ञ्ज मेकर्स एण्ड इनोभेटर्स’ ।

सन् २०१६ देखि नै बोनिताले नेपालको कुपोषण र भोकमरीविरुद्ध लड्ने पाइला चाल्नु भएको हो । यसका लागि विभिन्न संघ संस्था, सरोकारवालासँग पनि उहाँले काम गर्नुभयो । तर त्यसले सन्तुष्टि दिन सकेन । उपलब्धि त झन् परको कुरा । कुनै काम आँट्यो भने त्यसको आधा समय र लगानी त प्रक्रियागत झन्झटमै सकिन्थ्यो । तै पनि सुरुवाति तीन वर्ष जेनतेन बित्यो ।

केही नयाँ र फरक शैलीका साथ काम गर्नुपर्छ भन्ने सोच बोकेर उहाँले २०७६ साल वैशाखमा ‘सोचाइ’ संस्था दर्ता गर्नुभयो । नयाँ र फरक शैलीको काम गराइ उहाँका लागि त पाठ थियो नै, अरुका लागि पनि प्रेरणादायी बन्दै गयो । यसले अभियानलाई फैलाउन थप सहयोग गर्‍यो पनि ।

दर्ता भएको एक महिनामै बोनिताको संस्थाले ‘लिड २०३० च्यालेञ्ज’ पुरस्कार पायो । दिगो विकास लक्ष्य नम्बर २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

पहिलो पुरस्कार जितेको चार महिनापछि नै बोनिता बीबीसीको एक सय जना उत्कृष्ट महिलाको सूचीमा पर्न सफल हुनु भएको हो । जसले उहाँलाई संसारभर मात्रै चिनाएन, गरिबी, भोकमरी र कुपोषणविरुद्धको अभियान झन दृढ हुन शक्ति दियो ।

सोचाइका मालाहरु : जसले जीवनलाई पोषणयुक्त बनाउँछ !

नेपालबाट भोकमरी र कुपोषण हटाउने अभियानमा लाग्नुभएकी बोनिताले पोषणा माला बनाउनुभयो । पोषण विषयमा नै स्नातकोत्तर तह उत्तीर्ण गरेकी उहाँले सुरुमा कागजमा माला बनाउनुभयो ।

त्यसलाई साकार रुप दिन भटमासको मस्यौरा र हजुरबुबाले बुबालाई दिनुभएको रुद्राक्षको माला बिगारेर अर्को माला बनाउनुभयो । त्यो मालालाई सेतो, खैरो, निलो, पहेँलो, हरियो रङ लगाउनुभयो ।

अनि गर्भवतीलाई रङअनुसार पोषणयुक्त खानेकुरा खुवाउन सुझाव दिनुभयो । यो प्रभावकारी भएपछि बेच्न पनि सकिने गरी मोतीको दाना प्रयोग गर्नुभयो । झट्ट हेर्दा आकर्षक पनि देखियो । जीवन उपयोगी तरिकाले जानकारी पनि दिन सकियो ।

पोषण मालामा २१ वटा दाना छन् । सेतो, खैरो, निलो, पहेँलो, हरियो दानासँगै ०, ६, ९, १२ र २४ अंक लेखिएको अरु दाना छन् । अंकले बच्चाको उमेर जनाउँछ भने रङले खानेकुराको समूह । ० देखि ६ मा एउटा मात्र सेतो रङको दाना छ ।

सेतो अर्थात आमाको दूध भनेर सम्झन सकिने बोनिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘६ महिनासम्मको शिशुलाई आमाको दूधले मात्र पुग्छ । पानी पनि खुवाउनु पर्दैन त्यही भएर ० देखि ६ सम्म आमाको दूधमात्रै खुवाउनुपर्छ भनेर सेतो दाना मात्र राखेका हौँ ।’

त्यसपछि ६ देखि ९ अंकको बीचमा सेतो, खैरो, निलो, पहेँलो, हरियो रङको दाना छन् । यस्तै ९ देखि १२ र १२ देखि २४ रङको बीचमा पनि यीनै रंगका दाना छन् । यी दानाले अब दूधले मात्र पुग्दैन अन्नबाली, दाल, गेडागुडी, सागसब्जी र मासुजन्य परिकार पनि खुवाउनुपर्छ भन्ने सन्देश दिन्छ ।

उहाँ थप्नुहुन्छ, ‘६ महिनापछि बच्चाको अन्नप्रासन पनि गरिन्छ । उ बढ्दै गएको हुन्छ । त्यही भएर खानेकुरा पनि बढाउनुपर्छ जसले पोषण दिन्छ । सेतोले दूधजन्य खानेकुरा, खैरोले अन्नबाली, आलु, पहेँलोले दाल, गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ । मालामा हेरेपछि आमाले सम्झन्छन् । यी सबै जानकारी हामी चित्रमार्फत दिन्छौँ । चित्रमा महँगा फलफूल राखिएको छैनन् ।’

घर आँगनमै उत्पादन हुने स्थानीय फलफूल तथा तरकारी खान उहाँको सुझाव छ । त्यसपछि १२ महिनापछि भने बच्चालाई खाना र खाजासँगै अरु दुई पटक पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने बोनिताको भनाइ छ ।

महिनावारी माला

महिनावारी माला पोषण मालाभन्दा अलि फरक छ । यो मालामा २८ वटा मोतीका दाना छन् । जसले महिनावारी चक्र बुझाउँछ । यो माला किशोरीलाई दिने गरिन्छ । सुरुका पाँच वटा रातो रङको दानाले रगत बग्ने दिन जनाउँछन् भने हल्का सुन्तला रङले १४औँ दिनमा डिम्ब निस्किने बताउँछ ।

१० देखि १७औँ दानाले बच्चा बस्ने सम्भावना देखाउँछ । यसमा भएको सानो रिङ सारेर आफ्नो महिनावारी हुने दिन सम्झन पनि सकिन्छ । यसमा महिनावारी हुनुअघि ढाड र कम्मर दुख्ने, रिस उड्ने, रुन मन लाग्नेलगायतका समस्या आउन सक्छ है भनेर संकेत दिने दाना पनि छन् ।

पहिलो पटक महिनावारी भएको बेलामा आफूलाई यसबारे थाहा नहुँदा समस्या भएपछि किशोरीलाई पर्ने समस्या सम्झिएर नै महिनावारी माला बनाएको उहाँ सुनाउनुहुन्छ ।

माला लिएर जाँदाका अनुभव

कुनै ठाउँमा माला लिएर जाँदा सहयोग पाए पनि कुनै ठाउँमा भने ‘तिमीहरुले के गर्छाै ?’ भन्ने खालका अभिव्यक्तिले चित्त पनि दुखाएको छ । 

गाउँमा गएर पोषणबारे जानकारी दिँदै माला दिने गरिएको थियो । तर एक महिलाले भने टुनामुना गरेको भन्दै माला लगाउन नमानेपछि स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा सम्झाउनु परेको थियो । स्वास्थ्यकर्मीले सम्झाएपछि भने ती महिलाले माला लगाएकी बोनिका सम्झनुहुन्छ ।

कसरी खाँदा पोषण पाइन्छ ?

‘नेपालीको चलन धेरै भात खाने छ । तर त्यसो गर्नु हुँदैन । भातलाई भन्दा पनि दाल तरकारी धेरै खाँदा शरीरलाई आवश्यक पोषण पुग्छ ।’ पोषण विषयमै स्नातकोत्तर तह उत्तीर्ण गरेकी बोनिका शर्मा भन्नुहुन्छ, ‘नेपालीको थाल नै पोषणले भरिएको हुन्छ । भातदेखि दाल, गेडागुडी, हरियो, सागसब्जी, दूध, दही, घिउलगायतका खानेकुरा सधैँ खाने भएकाले पोषण पर्याप्त छ ।’

खानेकुरा खाँदा भातमा मात्र भन्दा पनि दाल र तरकारीलाई प्राथमिकता दिन उहाँको सुझाव छ । उहाँ थप्नुहुन्छ, ‘धेरै जना बिहान भात खानुहुन्छ थोरै दाल र तरकारीसँग । अनि दिउँसो केही नखाने बेलुकी फेरि थोरै दाल तरकारीसँग धेरै भात खाने गर्नुहुन्छ । तर यसो गर्दा दिनभरि भोकै भइन्छ । यसले ग्याष्ट्रिक बढाउँछ । बरु पटक पटक खाने थोरै खाने गर्दा शरीरलाई फाइदा हुन्छ ।’

दिउँसो फलफूलसँगै दही चिउरालगायतका खानेकुरा खान सकिने उहाँले बताउनुभयो । यस्तै बेलुकीको खाना सात बजेसम्ममा खाइसक्न पनि उहाँको सुझाव छ । 

‘सागमा धेरै आइरन पाइन्छ । साग खाँदा गोलभेंडा वा कागती जस्ता अमिलो हुने कुरा खानुपर्छ । यसले सागको आइरन शरीरमा राख्न मद्दत गर्छ’, उहाँ भन्नुहुन्छ, ‘सागमा हुने आइरन शरीरले सोस्दैन । तर साग खाएपछि अमिलो खाँदा शरीरबाट निस्कने मात्र होइन पोषण पनि लाग्छ ।’

अमेरिका जाने भिसा नपाएपछि...

१२ कक्षा उत्तीर्ण गरेपछि बोनिताले अमेरिका जाने सोच बनाउनुभयो । त्यहीअनुसार तयारी पनि गर्नुभयो । तर सँगैका साथीहरुले भिसा पाइसक्दा बोनितालाई अमेरिकाले ‘पत्याएन’ ।

केही समयपछि साथीहरु अमेरिका पुगे । आफूलाई आड भरोसा दिने साथीहरु छुटेपछि बोनितालाई काठमाण्डौ उराठ लाग्न थाल्यो । एक्लो जिन्दगीका घुम्तीहरु पार गर्न अघि बढ्नुपर्छ भन्ने प्रेरणा आमाबुवा र आफन्तले दिन्थे । तर एक्लै घुम्ती पार गर्ने आँट पलाइसकेको थिएन ।

त्यसबखत छोरीको नैराश्यता बढेपछि आमाबुवाले हरेस नखान सुझाए । बरु इच्छा लागेको विषय पढ्न ढिला नगर्न पनि सम्झाए । प्लस टु सकाएपछि जेनतेन पढ्नुपर्छ भनेर बोनिताले स्नातक तहमा ‘पब्लिक हेल्थ’ विषय छनौट गर्नुभयो ।

यो विषय पढ्न थालेपछि नै उहाँले आफ्नो देशका नागरिकको स्वास्थ्य अवस्था, गरिबी, भोकमरी र कुपोषणको भयावह अवस्था थाहा पाउनु भएको हो । निकै कठिन परिस्थितिमा उहाँले लिएको त्यो निर्णयले बोनितालाई आज संसारभर परिचित बनायो ।

बोनिताको कठोर यात्रामा उहाँकै साथी नेहा मल्ल, मनिता राजोपाध्याय र आसुतोष कार्कीको पनि ठूलो साथ छ । अभियान सुरु गर्दादेखि संस्था दर्ता र काम गर्दाका अनेकन कठिनाइमा नेहा, मनिता र आसुतोषले दिएको साथ बोनिता कहिल्यै बिर्सन सक्नुहुन्न । 

तस्बिरहरु - बाेनिता शर्माकाे फेसबुक पेजबाट

अन्तिम अपडेट: कात्तिक ३०, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया