युरोपा लिग : सेभिया र स्पान्योलको सहज जित

 कात्तिक २२, २०७६ शुक्रबार ७:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिगमा स्पेनिस क्लब सेभिया र स्पान्योलले भारी अन्तरको जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । 

समूहको चौथो खेलमा सेभियाले एफ ९१ डुडेलाङ्गेलाई ५–२ ले हरायो । डुडेलाङ्गेको मैदानमा भएको खेल सेभियाका लागि मुनिरले ह्याट्रिक गरे । मुनास डाबरले पनि दुई गोल गरेका थिए ।

१७औं मिनेटमा डाबरले गोल गर्दै सेभियालाई अग्रता दिलाए । २७औं र ३३औं मिनेटमा मुनिरले गोल गर्दा सेभियाले अग्रता ३–० मा लम्ब्यायो । त्यसको तीन मिनेटपछि डाबरले ब्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले पहिलो हाफमा चार गोलको अग्रता लियो । 

६६औं मिनटमा डाबरको पासमा मुनिरले ह्याट्रिक पूरा गरे भने सेभियाले ५–० को अग्रता थियो । 

पहिलो हाफमा निरिह बनेको डुडेलाङ्गेले ६९औं मिनेटमा खाता खोल्यो । डानेन सिनानीले गोल गरेका थिए । ८०औं मिनेटमा सिनानीले फेरी गोल गर्दा डुडेलाङ्गेले सेभियाको अग्रता ५–२ मा छोट्यायो । तर बाँकी समयमा गोल हुन नसक्दा सेभियाले नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । 

चार खेलमा स्पष्ट जित हात पारेको सेभिया १२ अंक बनाउँदै अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ ।

स्पान्योलले बुल्गेरियाको लुडोगेरेट्सलाई ६–० को भारी अन्तरले हरायो । घरेलु मैदानमा भएको खेलमा ला लिगाको रेलिगेसन जोनमा रहेको स्पान्योलले बुल्गेरियाको शीर्ष डिभिजनको क्लबलाई खेलभरी नै दबाबमा राख्यो । 

स्पान्योलको जितमा मेलेन्डो, लुइस लोपेज, माटियास भर्गास, भिक्टर काम्पुजानो, एड्रिया पेद्रोसा र फाकुन्डो फेरेराले गोल गरेका थिए ।

पहिलो हाफमा नै दुई जना खेलाडीले रातो कार्ड पाएपछि दबाबमा परेको लुडोगोरेट्सको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । लुडोगोरेट्सका राफेल फोस्टरले १२औं मिनेटमा र गोराल्स्कीले ३४औं मिनेटमा रातो कार्ड पाएका थिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया