सीमा विवादबारे भारतसँग कुटनीतिक तवरले नै वार्ता गर्ने प्रधानमन्त्रीको तयारी

 कात्तिक २३, २०७६ शनिबार ७:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालका अनुसार दिउँसो हुने छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायत सहभागी हुनेछन् । छलफलमा सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि बोलाइएको छ ।

नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न लाग्नुभएको हो ।

भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेपछि यसको चर्को विरोध भैरहेको छ । नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।

कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७८ ठाउँमा विवाद छ । कालापानी, सुस्ता, टनकपुर, पशुपतिनग लगायत क्षेत्रमा सीमा विवाद बढी देखिएको छ ।

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया