भारतलाई प्रधानमन्त्री ओलीकाे आग्रह- हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस् !

 मंसिर १, २०७६ आइतबार १४:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाउनुभएको हो । अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको भए पनि वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ ।’ 

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवादमार्फत सीमासम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उहाँले नक्सा नभइ भूमि फिर्ता लिने विषय महत्वपूर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा नागरिकले  चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रित भएर सरकारको विरोध हुने गरेको भन्दै उहाँले दुवै ढंगका विरोधको औचित्य नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुनियाँमा एउटा आइडोलोजिक क्लास छ । आइडोलोजिक पूर्वाग्रह छ  । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ । एउटा विरोध आइडोलोजिक-कम्युनिष्ट सरकार छ, त्यसकारण विरोध गर्नुपर्छ । जे गरे पनि विरोध गर्नुपर्छ । जसो गरे पनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । वैचारिक पूर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाइन, मैले केही पाएको छैन, मैले भने जस्तो पाइन, मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रlत स्वार्थी विरोध छ । यी दुईवटै विरोध उचित छैनन् ।’

केही कमी कमजोरी भए पनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भए पनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उहाँले श्रृजनात्मक सोचका साथ काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको श्रृजनात्मक सोचले श्रृजनात्मक काम गर्नुपरेकाे छ । कामलाई माया र सम्मान गर्ने संस्कृति बढाउनुपरेको छ । हाम्रोमा मेहनतबिना सहज आम्दानी हाेस् भन्ने प्रवृति छ । लगानी नगरी प्रतिफल चाहिने गरेकाे छ हो । बिना लगानी हुने प्रतिफल र सहज आम्दानीबाट हामी जोगिनुपर्छ ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया