कर्णालीका छोरीको बैँक खाता सरकारले खाेलिदिने

 मंसिर २३, २०७६ सोमबार ८:५४:४९ | मुना हमाल
unn.prixa.net

सुुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णालीका छोरीहरुको बैँक खाता खोलि दिने भएको छ । साउन १ गतेयता कर्णालीमा जन्मिएका सबै छोरीको बैँक खाता खोलिदिने योजना प्रदेश सरकारले अगाडि बढाएको हाे ।

प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रम समावेश गरेको थियो । यसका लागि प्रदेश सरकारले सात करोड बजेट छुट्टाएको थियो । 

नीति तथा कार्यक्रममा नै तय गरिएको कार्यक्रमलाई लागु गर्नका लागि मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यविधि तयार पारेको छ । प्रदेशका छोरीहरुको सामाजिक सुरक्षाका लागि प्रदेश सरकारले छोरीहरुको बैँक खाता कार्यक्रम ल्याएको सरकारले जनाएको छ । 

कार्यविधि अनुसार २०७६ साउन १ गतेयता जन्मिएका कर्णालीका छोरीहरुको अब आफ्नै बैँक खाता हुने छ । सरकारले छोरी २० बर्ष नपुुग्ने बेलासम्म पहिलो महिना एक हजार र मासिक पाँचसय रुपैँया छाेरीहरुकाे बैँक खातामा जम्मा गरिदिने छ । 

समाजिक विकास मन्त्रालयबाट स्थानीय तहमा कार्यक्रम संचालन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । कार्यालयका मुुख्य सचिव केबलप्रसाद भण्डारीले छोरीको संरक्षणका लागि यो कार्यक्रम ल्याइएको बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘कर्णालीमा समग्र महिलाको अवस्था कमजोर छ । छोरीको लालनपालन, हेरचाह र शिक्षामा त्यति लगानी गरेको पाइदैन । हामीले यो कार्यक्रम छोरीको संरक्षणका लागि ल्याएका हौँ ।’ 

छोरीमाथि हुने विभेदलाई अन्त्य गर्नका लागि यस कार्यक्रमले सहयोग गर्ने सरकारले विश्वास लिएकाे छ । छोरी भएकै कारण शिक्षामा पछि पारिनु र छोराको चाहनाले गर्भ पहिचान गरेर भ्रुण हत्या गर्ने प्रवित्ति राेक्न यस कार्यक्रमले सहयाेग पुग्ने सरकारले ठानेकाे छ ।  

कार्यविधिमा पहिलो महिना खाता खोल्दा एक हजार र त्यसपछि मासिक पाँच सय २० बर्षसम्म छोरीको बैँक खातामा जम्मा हुुन्छ । यो रकम छोरीको बैँक खातामा जम्मा हुुने गरी प्रदेश सरकारले सबै स्थानीय पालिकामा ठाउने छ’ कार्यविधिमा उल्लेख गरिएको छ । कर्णालीमा बार्षिक करिब ७ हजार छोरी जन्मिने गरेको तथ्यांक छ ।  

२० बर्षमा एक जनाको छोरीको बैँक खातामा एक लाख २० हजार रुपैँया जम्मा हुुन्छ । कार्यविधिमा प्रदेश सरकारले रकमलाई बढाउन सक्ने पनि उल्लेख छ । साउन यता जन्मिएका कर्णालीका सबै छाेरीहरुकाे आउँदाे पुस १ गतेदेखि खाता खाेल्न सुरु गरिने मुुख्यसचिव भण्डारीले जानकारी दिनुभयाे । 

सरकारले बैंकमा जम्मा गरिदिएकाे रकम प्रयाेगका बारेमा पनि कार्यविधिमा उल्लेख गरिएकाे छ । बैँकमा जम्मा गरिदिएको रकम छोरीको उमेर २० बर्ष पुुगेपछि मात्र झिक्न पाइने छ । त्यसभन्दा अघि भने झिक्न नपाइने व्यवस्था छ । 

साथै एक दम्पतिको बढीमा दुुई छोरीकाे मात्रै सरकारले खाता खाेलिदिने छ । खाता खाेलेकी छाेरीकाे उमेर २० वर्ष नपुग्दै विहे भयाे भने पनि उसले खातामा जम्मा भएकाे रकम चलाउन पाउने छैन । यस्तै माध्यमिक शिक्षा पुरा नगरी बिचमै पढाई छाड्ने छोरीहरुले पनि जम्मा भएको रकम बैँकबाट नपाउने व्यवस्था छ ।

सरकारले खातामा जम्मा भएको पैसा छोरी २० बर्ष र माध्यमिक तहको पढाई पुरा भएको प्रमाण पत्रका आधारमा मात्र दिने व्यवस्था गरेको छ ।

विशेषगरी बालविवाहकाे अन्त्य र छाेरीलाई पनि उच्च शिक्षा अध्ययन गराउन प्राेत्साहन गर्न याे कार्यक्रम ल्याइएकाले यस्ताे व्यवस्था राखिएकाे मुख्यमन्त्री कार्यालयका मुख्य सचिव भण्डारीले बताउनुभयाे । 

यस्तै प्रदेश सरकारले अभिभावकसँग पनि विभिन्न सर्तहरु राखेको छ । यो कार्यक्रममा सहभागि हुने अभिभावकहरुले छोरीलाई कम्तिमा माध्यमिक शिक्षा पढाउन प्रतिवद्धता जनाउनुपर्ने छ ।

साथै अभिभावकहरुले छोरीको उमेर २० बर्षसम्म नपुुगेसम्म बिवाह नगराउने र छोराछोरीबीच लालनपालन, हेरचाह र संरक्षणमा असामन व्यवहार नगर्ने प्रतिवद्ध हुनुुपर्ने कार्यविधिमा उल्लेख छ । 

याे कार्यक्रमको मुुल्याकन, अनुुगमन र निर्देशन स्थानीय पालिका र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले गर्नेछ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया