ग्राउण्ड जिरो रिपोर्ट : डाक्टर केसीलाई जुम्लाबाट काठमाडौं पुर्‍याउँदाकाे ६ घण्टा

 साउन ३, २०७५ बिहिबार २०:४९:५१ | नेत्र शाही

जुम्ला – बिहान ११ बजे एकाएक जुम्लामा हेलिकप्टर आउँदा धेरैजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर दौडिरहेका थिए । अस्पताल परिसरमा पुग्दा बाहिर डा. गोविन्द केसीका समर्थक र स्थानीयको घुइँचो थियो । प्रतिष्ठान परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । 

अस्पतालको तेस्रो तलामा रहेका डाक्टर केसी भएको ठाउँतिर जाने बाटोमा प्रतिष्ठानका विद्यार्थीहरु लहरै सिँढीमा बसेका थिए । उनीहरुले त्यहाँ ताल्चा लगाएका थिए । यसैगरी अर्को गेटमा पनि विद्यार्थीहरुले रोकेका कारण त्यहाँ पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून – गृहमन्त्री नरेश भण्डारी सहितको टोली समेत केसी रहेको कक्षमा पुग्न नसकी फिर्ता भएको भयो ।

केही समयपछि प्रहरीले केसी स्थलमा जाने बाटो खुला गर्न प्रयास गरेपछि लाठी चार्ज समेत भएको थियो । लाठीचार्जपछि त्यहाँको अवस्था तनावग्रस्त भयो ।

स्वास्थ्यकर्मी र विद्यार्थीहरु समेत घाइते भए । अस्पतालको आकस्मिक कक्षका बेड घाइतेले भरिभराउ भए । अस्पतालमा एकछिन कोलाहल भयो । त्यसपछि डा. केसीले पत्रकार सम्मेलन गरेर काठमाडौं जाने घोषणा गरेपछि एकाएक अवस्था शान्त भयोे । 

डा. केसीलाई नेपाली सेनाको भगवतीदल गणमा बिहानैदेखि कुरिरहेको हेलिकप्टरमार्फत काठमाडौं लगियो ।  उहाँको साथमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गृहमन्त्री नरेश भण्डारी, सरकारी वार्ताटोलीका संयोजक तथा शिक्षा सचिव खगराज बराल र डा. गुणराज लोहनीसँगै जानुभएको छ । 

यसअघि काठमाडौं नजाने अडान गरेका केसीले अस्पतालमा भीडन्त भएर समर्थक र स्वास्थ्यकर्मीहरु घाइते भएको र अस्पतालको क्षति भएपछि आफू जति बस्यो त्यति नै क्षति हुने भएको भन्दै काठमाडौं जाने समर्थन जनाएपछि काठमाडौं लगिएको हो । केसीलाई काठमाडौं लैजाँदा सेनाको भगवती दल गणको गेटसम्म पनि स्थानीय र समर्थकहरुले डा. केसी जिन्दावाद भन्दै बिदाई गरेका थिए । 

एक गम्भीर घाइते  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले लाठी चार्ज गर्दा भएको दोहोरो झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी कमल आचार्य उपाध्याय घाइते भएको प्रहरीले जनाएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रारम्भिक उपचार पछि फिष्टेल एयरमार्फत काठमाडौं पठाइएको छ । 

कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. केसीको अनसन भएको स्थानमा प्रहरीले खाली गर्न खोज्दा दोहोरो भिडन्त भएको थियो ।  यसैगरी प्रतिष्ठानका २७ विद्यार्थी सामान्य घाइते भएका छन् । 

डा. केसीलाई काठमाडौं लैजाँदै गर्दा प्रहरीलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको गाडीमा तोडफोड भएको छ । यसैगरी हेलिकप्टरस्थल सेनाको ब्यारेकमा जाँदै गर्दा ढुंगा डाक्टर चढेको एम्बुलेन्सको पछाडितिर पूरै सिसा फुटेको छ । 

केसीको अनसन जारी रहने   

डा. गोविन्द केसीले सरकारले माग पूरा नगरसम्म मरे पनि जुम्लामै मर्ने भने पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जाने बताउनुभयो । उहाँले सरकारी हेलिकप्टर नचढ्ने भने पनि बाध्यताले जानुपर्ने बताउनुभयो । 

हातमा स्लाइन र मुखमा अक्सिजन लगाएका केसीले ढलेकै अवस्थामा अस्पतालको गेटमा पत्रकार सम्मेलनमार्फत आफूलाई अपहरण शैलीमा सरकारले लिन खोज्दा कर्णाली प्रतिष्ठानमा ठूलो  क्षति हुनु दुखत भएको भन्दै काठमाडौं गए पनि अनसन जारी रहने बताउनुभयो ।

प्रतिष्ठानमा ठूलो क्षति 

डा. केसीलाई काठमाडौं लिने सरकारले तयारी गर्दा कर्णाली प्रतिष्ठानमा प्रहरी, समर्थकहरुबीच भएको झडपमा लाखौंको क्षति भएको छ । सिसाका झ्याल, फर्निचर  र उपकरणहरु समेत क्षति भएको सूचना अधिकृत  चेतबहादुर रोकायाले गुनासो पोख्नुभयो । 

समर्थकहरुकाे दिनभर नाराबाजी 

केसीका समर्थकहरुले करिब ५ घण्टासम्म प्रतिष्ठान वाहिर प्रदर्शन गरेका थिए । यसैगरी विमानस्थल जाने बाटोमा विभिन्न स्थानमा ढुंगा राखेर अवरोध गरेका थिए । उनीहरुले केसीलाई अपहरण शैलीमा काठमाडौं लैजान लागिएको भन्दै माग पूरा गर्नुपर्ने बताउदै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया