अतिविपन्न बादी समुदाय ऋणमुक्त : सिंहदरबार घर–आँगनमै आएकाे अनुभूति भयाे– बादी समुदाय

 माघ ३, २०७६ शुक्रबार ८:२४:१० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङका अतिविपन्न वर्गका बादी समुदाय ऋणमुक्त भएपछि उनीहरुमा खुशीयाली छाएको छ । वर्षौदेखि साहुको पीडा खेप्दै आएका बादी समुदायले ढुक्क तरिकाले बस्न, खान र सुत्न पाइएला भनेर कल्पनासम्म पनि गरेका थिएनन् । 

बादी समुदायकी ३५ वर्षीया हरिना बादीलाई विगतको सम्झना अहिले पनि आउँछ । छोराछोरीको लागि खानाको जोहो गर्न विभिन्न गाँउ र बस्तीमा नाच्दै गाउँदै मागेर ल्याएको अन्न तथा खानेकुराहरु साहुले खोसेर लगेको उहाँ सम्झनुहुन्छ । 

पकाएका खानेकुरासमेत साहु आएर गाईवस्तुलाई दिने गर्दथे । घरमा ताला लगाइ दिन्थे र  ऋण तिरेपछि मात्रै राम्रोसँग खान र बस्न पाउँछौ भनेर गाली गर्थे र कुटपिटसम्म गर्थे । 

तर अब यी सबै हैरानबाट मुक्त भएपछि बादी समुदायमा छुट्टै किसिमको खुशीयाली छाएको छ । 

‘घरमा एक मुठ्ठी अन्न हुँदैन थियो । श्रीमान् बित्दा किरिया खर्च भनेर लिएको नौ ९ हजार पाँच सय   रुपैयाँ बुझाउन नसकेपछि साहुले घरमा आएर रात दिन कचकच गर्थे’, जयपृथवी नगरपालिकाकी हरिना बादी विगत सम्झनु हुन्छ । तर नगरपालिकाले साहु नरेश चित्रकारको ऋण तिरिदिएपछि उहाँ दङ्ग पर्नु भएको छ । 

जुनतारा बादीका ससुरा रङ्गे बादी र श्रीमान् टेके बादीले पटक पटक गरेर निकालेको चार लाख ६५ हजार रुपैयाँ नतिरेको भन्दै साहु लक्ष्ीम सुनारले उनीहरुलाई पटक पटक धम्काउने गरेका थिए । ऋण लिएको तम्सुक देखाउँदै ऋण जसरी पनि तिर्न भन्दै गाली र कुटपिटसमेत खाएको जुनताराले बताउनु भयो । 

अहिले साहुको रकम नगरपालिकाले बुझाइ दिएपछि गरिबको पनि सरकार रहेछ र सिंहदरबार घर आगनमा आएको अनुभूति सुनाउनु भयो । 

जयपृथ्वी नगरपालिका १० बादी टोलमा रहेका १३ परिवार बादीहरुले विवाह, मृत्यु, चाडपर्व र दैनिक गुजारा गर्न सात जनाबाट लिएको आठ लाख ३० हजार चार सय  रुपैयाँ  ऋण नगरपालिकाले बुझाएको मेयर विरेन्द्र खड्काले बताउनु भयो । 
पटक पटक बादी समुदायलाई साहुहरुले यातना दिने गरेका कारण उनीहरुलाई ऋण मुक्त गरिएको उहाँको भनाइ छ । यसको ठूलो श्रेय जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर विष्टलाई जाने उहाँले बताउनु भयो । 

'सबै समस्याबाट मुक्ति दिलाउने वडाध्यक्षको पहल सफल' 

सीमान्तकृत बादी समुदायलाई सबै क्षेत्रबाट मुक्ति दिलाउने जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर विष्टले प्रतिबद्धता जनाउनु भएको थियो । 

जनता आवास कार्यक्रमबाट सामान्य घर निर्माणका लागि नेपाल सरकारले आठ वटा घर बनाउन प्रतिघरलाई दुई लाख ३२ हजार रुपैयाँ दिएको थियो । 

विष्टले सात लाख रुपैयाँ व्यक्तिगत, एक लाख रुपैयाँ भुवन विष्ट, एक लाख रुपैयाँ पिङ्की विष्टको गरेर नौ लाख रुपैयाँ र नेपाल सरकारको जनता आवास कार्यक्रमबाट १८ लाख ५६ हजार रुपैयाँको लागतमा नयाँ पक्की घर निमार्ण गर्न पहल गर्नु भयो । 

अब साहुको ऋणबाट मुक्त भएका बादी समुदायले समुदायको नाम नै परिवर्तन गरी मुक्ति टोल राख्ने योजना बनाएको अध्यक्ष विष्टले बताउनु भयो । विष्टले आफ्नो व्यक्तिगन लगानीमा बादी समुदायका लागि खानेपानीको समेत व्यवस्था गरिदिनु भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया