विदेशबाट फर्किएकामध्ये ४४ प्रतिशत मात्रै रोजगारीमा, धेरैले कामै खोज्दैनन्

 फागुन ३०, २०७६ शुक्रबार १७:०:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशबाट फर्किएकामध्ये ४४ दशमलव २ प्रतिशत मात्रै रोजगारीमा संलग्न भएको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ले विदेशमा पाँच वर्ष काम गरेर फर्किएकामध्ये ४४ दशमलव २ प्रतिशत रोजगारीमा संलग्न भए पनि ४१ दशमलव ५ प्रतिशतले कुनै पनि काम नखोजेको देखाएको छ । प्रतिवेदन अनुसार १४ दशमलव ३ प्रतिशत भने बेरोजगार रहेका छन् । 

कृषि, वन तथा मत्स्यपालनको क्षेत्रका दक्ष श्रमिकहरुको हकमा मुलभूत रुपमा भिन्नता भएको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार १ दशमलव ७ प्रतिशत वैदिशक रोजगारीमा हुँदा र १४ दशमलव ३ प्रतिशत स्वदेश फर्किएपछि पनि त्यही अनुसारको काममा संलग्न भएको पाइएको छ । 

विदेशबाट फर्किनेमा १५ देखि ३४ वर्ष उमेर समूहका श्रमिकको अनुपात धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशबाट फर्किनेमा सबैभन्दा ठूलो संख्या कर्णाली र सुदूरपश्चिम प्रदेशमा छ भने विदेशबाट फर्किएर बेरोजगार हुनेको र काममा संलग्न नहुँनेको संख्या पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै रहेको प्रतिवेदनले देखाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्कने श्रमिकको संख्या धेरै छ भने गण्डकी प्रदेशमा खाडीका देशबाट फर्कने श्रमिकको संख्या धेरै छ । 

विदेशीनेमा अदक्ष श्रमिकको संख्या धेरै

सन् २०१८/१९ मा ५९ प्रतिशत अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । गएको वर्ष २ लाख ३६ हजार २ सय ८ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारीमा जानेहरुमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशतभन्दा बढी १८ देखि ३५ वर्ष उमेर समूहका युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

म्यानपावर व्यवसायीले सबैभन्दा धेरै कतार, साउदी, यूएई र मलेसिया श्रमिक पठाउने गरेको पाइएको छ । नेपालका ७ सय ४७ म्यानपावर कम्पनीले श्रमिकलाई कतार पठाएका छन् भने ४ सय ३२ म्यानपावरले साउदी, ४ सय ९७ म्यानपावरले यूएई र ३ सय १० म्यानपावरले श्रमिक मलेसिया पठाएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा ४० लाख जना वैदेशिक रोजगारीमा गएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया