देशैभरि पर्याप्त आपूर्ति र सन्तुलित वितरणको व्यवस्था गरेका छौं

 चैत २३, २०७६ आइतबार १६:३९:३७ | लेखराज भट्ट
unn.prixa.net

काठमाण्डौ - सङ्क्रमणलाई रोक्ने भनेको ‘लकडाउन’ले नै हो । ‘लकडाउन’ लाई अनुशासित र व्यवस्थित कसरी गर्ने भन्ने विषयलाई हामीले समीक्षा गरेका छौं । अहिले ‘लकडाउन’ पूर्णतः सफल नै छ । उपत्यकाबाहिरका सहरहरुमा पनि सफल नै छ । तर केही समस्या देखा परेका छन् । जस्तो सुदूरपश्चिममा थप तीन जना सङ्क्रमित देखिए । 

हिजो सङ्क्रमित भएर आएको मान्छेबाट अर्कोमा सरेको पाइयो । यस्तै बाग्लुङमा पनि बाहिरबाट आएकामा सङ्क्रमण देखियो । त्यही स्थितिलाई मध्यनजर गरेर हिजो मन्त्रीपरिषद्ले गरेको निर्णयअनुसार आवश्यक पर्दा स्थानीय तहमा पनि ‘लकडाउन’ गर्नुपर्ने हुन्छ । ‘लकडाउन’ त यसको वस्तुस्थितिमा भरमा पर्छ । यतिबेला कोरोना भाइरसको सबैभन्दा ठूलो उपचार ‘लकडाउन’ हो । सम्भवतः एकअर्काबीचको दूरी बढाउने हो । अवस्था हेरेर चैत २५ गते मन्त्रीपरिषद्को बैठकले निर्णय गर्छ । अब के हुन्छ त्यही दिन निर्णय हुन्छ ।

पहिलो कुरा त असहज परिस्थितिलाई कसरी सहज बनाउने भन्ने कुरामा हामी खट्यौं । मलाई लाग्छ उपत्यकामा अहिले त्यस्तो असहज छैन । हामीले देशैभरिको अवस्थाबारे अध्ययन गरिरहेका छौं र रिपोर्ट पनि लिइरहेका छौँ । जस्तो विशेषगरी हाम्रो खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले घुम्ती सेवा दिइरहेको छ । यस्तै ग्यास सिलिण्डरको अभाव भएका ठाउँमा आधा सिलिण्डर भए पनि दिने व्यवस्था गर्यौं । आयल निगमको पुरै टिम यसमा खटेको छ । कतिपय ठाउँमा घरमै पनि पुर्याइदिएको छ । दैनिक ६, ७ सय सिलिण्डर घरमै पुर्याइदिएको हामीसँग रेकर्ड छ । अहिले टेकुमा हामीले सबै कम्पनीका ग्यासहरु राखिदिएका छौँ । त्यहीँबाट उपभोक्ताहरुले लिन सक्नुहुन्छ । 

हामीले काठमाण्डौमा मात्रै होइन, देशैभरि खाद्यान्न आपूर्ति गरिरहेका छौं । मैले प्रत्येक जिल्लाका प्रमुखसँग सम्पर्क गरेको छु । हुम्ला, जुम्लाजस्ता ठाउँमा पनि हामीले हवाई मार्गमार्फत भए पनि आपूर्ति गरेका छौं । गाउँसम्म आपूर्ति गर्नको लागि सम्बन्धित जिल्लामा रहेको वाणिज्य कार्यालयमार्फत पनि काम भएको छ । स्थानीय तहमार्फत भए पनि हामीले आपूर्ति गर्न लगाउँछौं । 

यदि अभाव नै भएको हो भने आफ्नो पालिकाका प्रतिनिधिसँग कुरा गर्न म आग्रह गर्छु । यस्तै आर्थिक रुपमा एकदमै कमजोर परिवार अर्थात गरिब परिवारलाई तत्कालै खाद्यान्न आपूर्ति गर्न भनेका छौं । हामीले सबैभन्दा बढी स्थानीय निकायलाई परिचालन गर्न भनेका छौँ र स्थानीय निकायहरु एकदमै सक्रिय भएका छन् । सामान्य प्रशासन मन्त्रालयले पनि हरेक दिन रिपोर्टिङ लिइरहेको छ र परिचालन गरिरहेको छ ।

बजारमा सामान्यतः आवश्यक वस्तु लिनको लागि त्यस्तो कुनै समस्या छैन । स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन र सरकारका नियम पालना गरेर तपाईं जान सक्नुहुन्छ । अर्को कुनै उपाय नभए स्थानीय निकायसँग सम्पर्क गर्न सकिन्छ । यस्तै सुरक्षाकर्मीले बल प्रयोग गर्यो भन्ने छ । त्यो त सुरक्षाको कुरा भयो । उहाँहरुसँग आफ्नो समस्या राख्नुभयो भने जान नदिने कुरै भएन ।

सबैभन्दा उत्तम उपाय भनेको आफू रहेको पालिकासँग समन्वय गर्नुभयो भने राम्रो हुन्छ । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ । नियमित अनुगमन भइरहेको छ । तोकेकोभन्दा बढी मूल्य लिनेलाई कडा कारबाही गर्न भनेका छौँ । यस्तै कसैले बढी मूल्य लिएर सामान बेचेको पाउनुभयो भने हामीलाई जानकारी गर्नुुहोस् भनेर भन्दै आएका छौं । यस्तै टोल फ्री नम्बर ११३७ मा फोन गरेर यो ठाउँमा यो पसलले मबाट बढी लियो भनेर जानकारी गरिदियो भने हामी तुरुन्तै कारबाही गर्नेछौं ।

विराटनगर, भैरहवा, वीरगञ्ज र नेपालगञ्जको नाकाबाट दैनिक सामान आयात भइरहेको छ । यस्तै काठमाण्डौ उपत्यकामा मात्रै चार दिनमा लगभग पाँच सयभन्दा बढी खाद्यान्न र औषधि बोकेको ट्रक आएका छन् र आउने क्रम जारी छ । खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै कमी भएको छैन । 
चैत २० गते बसेको उच्चस्तरीय बैठकले खाद्यवस्तुसँग जोडिएका उद्योगहरुलाई  स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार विशेष दूरी कायम गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

यस्तै मजदुर सङ्गठनका व्यक्तित्वहरुसँग सम्पर्क गरिरहेका छौं । कोरोनासँग लड्नको लागि सरकारले तोकेको मापदण्डलाई पालना गरेर हामीले उत्पादनलाई अगाडि बढाउनुपर्छ । यस्तै खेतमा भएको बालीजस्तो गहुँ भित्र्याउने र बर्खे बाली लगाउने विषयमा पनि मापदण्ड बनाइदिइएको छ । यसरी उत्पादनलाई सँगसँगै लगेर ‘लकडाउन’ लाई सफल पार्ने हाम्रो उद्देश्य हो ।

उपत्यकामा मात्रै चार दिनमा पाँच सयभन्दा बढी ट्रक र सबै नाकाबाट अत्यावश्यक वस्तुसहित १२ सयभन्दा बढी ट्रक भित्रिएका छन् । देशैभरि आयात गर्ने र त्यसलाई सन्तुलित रुपमा वितरण गर्ने हामीले व्यवस्था मिलाएका छौँ । दुर्गममा हवाई मार्गमार्फत पनि ढुवानी गर्ने प्रक्रिया मिलाएका छौँ । ग्यास नपाइने कुरै छैन । हामीसँग पर्याप्त ग्यास छ । कहाँ नपाइएको हो र कुन ग्यास नपाइएको हो भन्ने जानकारी दियो भने हामी सम्बन्धित उद्योगीलाई तुरुन्तै भन्छौँ । यस्तै आयल निगम, स्थानीय निकाय वा स्थानीय प्रहरीलाई भन्दा पनि हुन्छ । हामी तुरुन्तै कारबाही गर्नेछौं ।

(मन्त्री भट्टसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत ५, २०८०

लेखराज भट्ट

लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया