कता–कता मनभित्र आमा, डर पलाएको छ (कविता)

 चैत २७, २०७६ बिहिबार १४:४०:१३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रामचन्द्र अर्याल (बैरागी साइला), हाल कतार

न करोडपति खुशी छन यहाँ,
न खुशी छन् सर्वसम्पन्न देशहरु
न राजाको मुहारमा हाँसो देख्छु 
मलिन छन् सबैका अनुहारहरु ।।

न डाक्टर सुरक्षित देख्छु यहाँ,
न त उपचाररत कैयाै‌ बिरामीहरु
पैसा हातको मैला भएर गयो
किन्न सकेन कसैले
स्वास्थ्य, सुख र शान्ति यहाँ ।।

अहो कस्तो विपत्ती छायो संसारमा,
सक्रीय छन् अदृश्य भाइरसहरु
प्रवेश गरेर सकस पार्छन् शरीरमा,
सङ्क्रमित हुदै छन् थप मानिसहरु
जाउँ भागिकन कहाँ, त्याे नपुगेको ठाउँ छैन,
शहर बजार ढाकिसक्यो, गाउँ पनि अछुतो छैन ।।

बसौं सुरक्षित आफ्नै घरभित्र,
नजाऔं बाहिर निम्तो गर्न भाइरसहरु
काल आएपछि लान्छ सबैलाई, त्यो थाहा छ
धनी, गरिब केही भन्दैन, त्यो पनि त थाहा छ
मिति नछोट्याउ भन्नू बस यत्ति मात्रै हो
मुटु छियाछिया पारी बाच्नुपर्ने,
हे दैव यो कस्तो नियती भो ।।

मरियो भने यो भाइरसले
आउँदैनन् काँध थाप्न कोही इस्टमित्रहरु
न कात्रो नै ओढ्छ त्यो लाशले
न बज्छन् सङ्खका ध्वनीहरु 
पाउँदैन  छुन आफ्नै परिवारले,
न पाउँछ त्यो लाशले अग्निको दागबत्ती,
पोको पारी फालिदिन्छ कतै,
मुस्किल छ भेट्न लाशको त्यो अस्थि ।।

यहाँ परदेशीको जीवन अझ मुस्किल छ,
पाइन्न बस्न घरभित्र, बाहिर कोरोना हात फैलाउँदैछ
थाहा छैन कुन दिन उसँग अङ्कमाल हुनु छ,
बाँचे घर फर्कने आशा, मरे यतै माटोमा मिल्नु छ ।।

कता–कता मनभित्र आमा, डर पलाएको छ,
लान्छ कि भनी भाइरसले, मुटु पोलेको छ
यो जन्म त यसै हुन्छ कि के हो आमा,
तिम्रो दसधारा दुधको भार तिर्न पाउँदिनकी भन्ने पीर लागेको छ ।।

न फर्कन्छ, परदेशीको लास स्वदेशमा,
न परिवारले मुख देख्न पाउनु छ
न पाउछ मृत शरीरले पशुपतिको स्पर्श
न त ब्रम्हनालमा सुत्न पाउनु छ ।।

मर्नै परे पनि आफ्नै देशमा मर्न पाइयोस्
मृत शरीरले पनि आफ्नै माटोको स्पर्श पाओस्
चाहना त अरु अब केही छैन मनभित्र,
बस यत्ति हो, चितामाथि रहेर अग्निले जलाइयोस ।।

आखिर के नै रैछ र जीवन भन्नू,
दुई दिनको दर्पणछाया न रैछ 
बाचुञ्जेलिको मायामोह रैछ जीवन
मरेपछिको बस केबल झ झल्को मात्र ।।
 

अन्तिम अपडेट: जेठ ४, २०७७

तपाईको प्रतिक्रिया