गाउँपालिकामा बहुमतको बलमिचाइँ : छैटौँ तह वरिष्ठ, सातौँ तह कनिष्ठ

 चैत ३०, २०७६ आइतबार १८:३४:१६ | सुमन तिमल्सिना
unn.prixa.net

विराटनगर – कोरोना महामारीको बेलामा स्वास्थ्यकर्मीहरुलाई खुसी पारेर उनीहरुबाट काम लिनुपर्ने समय हो । तर मोरङको एउटा गाउँपालिकामा  स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुने गरेको घटना बाहिर आएको छ । ग्रामथान गाउँपालिका एउटा यस्तो स्थानीय निकाय हो जहाँ कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठलाई विस्थापित गर्दा स्वास्थ्यकर्मीहरुबीचमा विवाद सिर्जना भएको छ । 

गाउँपालिका जनप्रतिनिधिहरुबीच गुटबन्दीमा विभाजित छन् । यसमा वडा अध्यक्षहरु प्रत्यक्ष रुपमा संलग्न देखिएका छन्  । गाउँपालिकामा विकास निर्माणको कामलाई अगाडि बढाएर जानुपर्ने जनप्रतिनिधिहरु विकासको वातावरण बिथोल्ने काममा लागेको आरोप लागेको छ ।   

केही समयअगाडि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनको काम अगाडि बढायो । धेरै कर्मचारी सरुवा भएर धेरै ठाउँमा पुगे । कोही तोकिएको ठाउँमा जान पाएर सहजै गए । कोही जान मन नहुँदा नहुँदै पनि जानुपर्ने बाध्यता बन्यो । 

त्यही समायोजनमा परेर जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट ग्रामथान गाउँपालिकामा हाजिर हुन जानुभएका सातौँ तहका जनस्वास्थ्य अधिकृत हुनुहुन्छ शेखरकुमार यादव । मन्त्रालयको गएको भदौ १३ गतेको निर्णयअनुसार ग्रामथान गाउँपालिकाको जनस्वास्थ्य अधिकृतमा उहाँ सरुवा हुनुभएको हो ।

मन्त्रालयले  समायोजन भएका कर्मचारीहरुलाई तोकिएको कार्यालयमा हाजिर हुन परिपत्र परेपछि उहाँ ग्रामथान गाउँपालिकामा हाजिर हुन जानुभयो । तर उहाँलाई प्रशासनले हाजिर हुन दिएन । किनभने त्यस गाउँपालिकामा छैटौँ तहसम्मको मात्र दरबन्दी रहेकोले सातौँ तहको जनस्वास्थ्य अधिकृत यादवलाई गाउँपालिकाले हाजिर गराउनै मानेन ।   

गाउँपलिकाले गएको असोज १३ गते दरबन्दी नभएको पदमा कर्मचारी सरुवा भएर आएको भन्ने ब्यहोराको पत्र मन्त्रालयलाई पठाएको थियो । त्यसको जवाफमा मन्त्रालयले कात्तिक ७ गते पत्र लेखेर असोज १३ गतेको निर्णय नै कार्यान्वयन गर्न निर्देशन दिएपछि कार्यालयमा हाजिर हुन दिइएको थियो । यहीबाट नयाँ घटनाक्रम सुुरु भयो । 

गाउँपालिकाको बोर्ड बैठकले यादवलाई झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने निर्णय गर्यो । प्राथमिक स्वास्थ्य केन्द्र गाउँपालिका मातहत हुने भएकोले आफू सातौँ तहको जनस्वास्थ्य अधिकृतको रुपमा पालिकाको स्वास्थ्य संयोजककै रुपमा काम गर्न पाउनुपर्ने अडान लिएपछि विवाद देखिएको यादवले बताउनुभयो ।  प्राथमिक स्वास्थ्य केन्द्रमा जान नमान्नुभएका यादव गाउँपालिकाको कार्यालयमा हाजिर गरी दिनभरि बसेर फर्किनुहुन्थ्यो । 

सिअहेब राजकुमार झा कार्यालयमा पहिलादेखि काम गर्दै आउनुभएको कर्मचारी भएकोले वडा अध्यक्षहरुले उहाँलाई संयोजक बनाउनुपर्छ भन्दै लागेका थिए । वरिष्ठ कर्मचारी कनिष्ठको माताहतमा रहेर काम गर्नुपर्ने अवस्था आएपछि आफूलाई ठिक नलागेको जनस्वास्थ्य अधिकृत यादव बताउनुहुन्छ  । तर छैटौँ तहकोलाई स्वास्थ्य संयोजक बनाइयो र उनको मातहतमा यादव रहने भनेर नीति नियमविपरित उपाध्यक्ष र सबै वडा अध्यक्ष उभिए । यसमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहमति थिएन । 

कार्यालय नियमित आउने र फर्किने गर्नुभएका यादवलाई चैत २२ गतेको अध्यक्षको निर्णयले कोरोना भाइरसको नियन्त्रण र रोकथामसम्बन्धी काम हेर्नेगरी यादवलाई गाउँपालिका कार्यालयमै बस्नेगरी पत्र दिइयो । तर यो सिअहेब झालाई चित बुझेन र उहाँले सबै वडा अध्यक्षलाई यो कुरा सुनाउनुभयो । त्यसपछि सबै वडा अध्यक्ष भेला भएर प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरेकोे पहिलेको निर्णय कार्यान्वयन नहुँदै पालिकाको कार्यालयमा बस्न नदिने भन्दै यादवको लागि बनाइएका टेबुल र कुुर्सी उहाँहरुले फालिदिएको कर्मचारीहरु बताउँछन् । 

चैत २४ गते आफूलाई भोलिदेखि कार्यालय नआउनू भन्दै वडा अध्यक्षहरुले हप्कीदप्की दिएको यादव बताउनुहुन्छ । ‘म सातौँ तहको अधिकृत हुँ । मलाई मेरो जिम्मेवारी राम्रोसँग थाहा छ,’ यादवले भन्नुभयो, ‘तर वडा अध्यक्षहरुले जे चाहे त्यही भयो र विधिको पालना भएन ।’  गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नीति र विधिका कुरा गर्दा समेत वडा अध्यक्षहरुले नटेरेको कर्मचारीहरुको गुनासो छ ।

यस बारेमा प्रमुख प्रशासकीय अधिकृत होम पौडेलले सुरुदेखि नै समस्या देखिएको स्वीकार गर्नुभयो । पौडेलका अनुसार बोर्ड बैठकले यादवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । वरिष्ठ नै प्रमुख हुनुपर्ने कानुनी व्यवस्था भएकोले वरिष्ठ कनिष्ठको माताहतमा बस्न नमिल्ने उहाँको भनाइ छ । 

गाउँपालिकाको घटनामा विभिन्न सङ्घसङ्गठनले पनि चासो लिएका छन् ।  स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण जनप्रतिनिधिहरुले नबनाएको भन्दै अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्ष अन्जना पोख्रेलले नीति र विधिभन्दा कोही माथि नहुने बताउनुभयो । जनप्रतिनिधिले मिलाउनुपर्ने ठाउँमा बिगारेकोे आरोप लगाउनुहुँदै पोख्रेलले समस्याको समाधान तत्काल ननिकाले कानुनी रुपमा अगाडी बढ्ने चेतावनी दिनुभयो ।  

गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले कोरोनाको महामारी अनुगमनको लागि स्वास्थ्य अधिकृत यादवलाई राखेको बताउनुभयो । तर वडा अध्यक्षहरुले थर्काएको र कार्यकक्षको कुर्सी समेत फालिदिएको भन्ने जानकारी आफूलाई पनि प्राप्त भएको अध्यक्ष माझीको भनाइ छ । ‘त्यतिखेर म कार्यालयमा थिइनँ । मलाई शेखरजी र केही कर्मचारीले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभयो,’ माझीले भन्नुभयो, ‘वडा अध्यक्षहरुबाट दुव्र्यवहार भएको हो भने त्यो राम्रो होइन ।’

यादवलाई अध्यक्षले अनुगमनको लागि पालिकामा हाजिर भएर काम गर्न भन्नुभएको थियो । वडा नम्बर १ का अध्यक्ष नमोनारायण माझीसहितका केही वडा अध्यक्षले जनस्वास्थ्य अधिकृतको कार्यकक्षमा भएको कुर्सी फालेको र गाली गलौज गरेको आरोप लागेको छ । 

आफूबाहिर भएको बेलामा वडा अध्यक्षहरुले बोर्ड बैठक बसेर कनिष्ठलाई गाउँपालिकाको स्वास्थ्य संयोजक बनाई वरिष्ठ अधिकृतलाई प्राथमिक स्वास्थ्य केन्द्र पठाउनु गलत भएको अध्यक्ष माझीको भनाइ छ । अध्यक्ष माझीले आफ्नो बहुमत नभएकोले सबै विषय बोर्डको बैठकमा लगेर पास गर्ने गरिएको र विधिको कुरा गर्दा आफूलाई समस्यामा पार्ने गरिएको गुनासो गर्नुभयो । विधि र कानुन लत्याएर वडा अध्यक्षहरुले आफ्नो अनुकूलको निर्णय बोर्ड बैठकबाट गराउने गरेको कर्मचारीहरुको पनि गुनासो छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • बलिराज लिम्बू

    April 15, 2020, 12:33 p.m.

    यो बिषय घाम जत्तिकै छ्र्लङ्ग छ। स्पस्ट रुपमा बिषयगत मन्त्रालयले तोकिदिएको कुरामा बिबाद निकाल्नु गतिलो काम होइन। गाउपालिकाको स्वास्थ्य शाखामा सातौ तहको दरबन्दी छैन, प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी छ, त्यसैले सातौ तहका यादबजी को पदस्थापना सोही बमोजिम हुनु सर्बथा न्यायोचित छ। प्राथमिक स्वास्थ्य केन्द्र, नगर/गाउँ कर्यपालिका मातहतमा रहन्छ्न न कि स्वास्थय शाखा, एकपल्ट प्राथमिक स्वास्थ्य केन्द्रको स्ट्याम्प हेर्न हुन पनि अनुरोध छ।

  •  0 Reply
  • hari bhattarai

    April 14, 2020, 4:26 p.m.

    मलाइ यो पोस्टमा कमेन्ट गर्न बिलकुल मन थिएन | तर पनि सोहि गाउपालिकाको नागरिक भएको नाताले केहि लेख्न बाध्य छु | मैले समाचार पनि पढे र सबै १२ वोटा कमेन्टपनि पढे | झन्डै २० वर्ष स्वास्थ्यको तल देखि माथि केन्द्र सम्म को अनुभबको आधारमा केहि लेख्न बाध्य छु | यो वा त्यो व्यक्ति संयोजक बनाउनु पूर्व त्यो संयोजक ले गर्ने कामको प्रकृति को बारेमा छलफल गरौ | त्यो काम गर्न कस्तो योग्यता चाहिन्छ त्यो पनि निश्चित गरौ | अनि त्यसपछि कुन व्यक्ति उपयुक्त हुन्छ उत्तर तेसै आउछ | कुन तह हो भन्ने कुरा मुख्य होइन किनकि आज पनि झोराहट प्राथमिक स्वास्थ्य केन्द्रमा ८ तहको डाक्टरको दरबन्दी होला | भोलि MD गरेको डाक्टर आए झोराहटमा भने यहाँ त यो पोस्ट नै छैन, काम नगर्नु तपाई जानु भन्ने हो कि अझ बिशेसज्ञ सेवा पाइने भो भनेर खुशी हुने र वहालाइ टिकाई राख्ने योजना बनाउने हो ? अब जनप्रतिनिधिहरु को थोरै कुरा गरौ, उनीहरु अर्कै ध्रुबबाट आएका होइनन, येही समाजका हामि जस्तै, हामीले भोट हालेर जिताएर पठाएका मानिस हुन | कुनै एउटा चुनाब चिन्हमा बढी मत पाएको कारणले आज त्यो पदमा हुनुहुन्छ | तपाइँ त्यो चुनाब चिन्हको मात्र प्रतिनिधि होइन, सबै नागरकिको प्रतिनिधि हुनुभयो भने यो समस्या आउदैन | यादगर्नु होस् समस्या नियममा होइन नियतमा छ | अनि नीति नियम मा समाधान खोजेर भेटिन्छ त? स्वास्थ्यका कर्मचारीहरुलाइ कसरि सहि ढंगले परिचालन गर्ने भन्ने गम्भीर बहस गर्नु होस् | परामेडीकल कर्मचारीहरु खास गरि स्वास्थ्य सस्थामा बसेर आला भिरेर डाक्टर बन्न रमाउने प्रबृत्ति छ, जनस्वास्थ्य कार्यक्रममा खासै चासो छैन | बिरामी यति आए उति आए भन्ने मात्र होइन, समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमसुरु गराउनु पर्ने छ | ग्रामथानमा कति बयस्क मनिष हरु छन् तिनमा दिर्ग रोग कति छ, नियमित औसधि कतिले खान्छन्, रोगको जोखिममा कति छन्, केहि डाटा छ स्वास्थ्य संयोजक र जनप्रतिनिधि ज्यु हरु ? कोरोना ले बिशेष गरि यिनै मनिषहरुलाइ सताउने कुरा त सर्बबिबिध नै छ | यो त सानो उदाहरण मात्र हो येस्ता गर्न सकिने काम कति छन् कति | स्वास्थ्यकर्मीलाइ अफिसबाट बाहिर निकाल्नुहोस र समुदायमा पठाउनु होस् | अन्त मा धेरै लेख्न पनि गाह्रो छ र भन्दै छु समस्या नियत मा छ नियम मा होइन | अवसर एक पटक आउछ, पटक पटक होइन, मालिक जनता हुन्, कर्मचारी वा जनप्रतिनिधि होइनन त्यसै ले बुझेर काम गरौ , ग्रमथान बनाऊ |

  •  1 Reply

तपाईको प्रतिक्रिया