कैलालीकी एक महिलामा काेराेना सङ्क्रमण

 बैशाख १, २०७७ सोमबार ११:४१:२२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा चिया पसल गर्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।  

वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको अस्पतालले जनाएको छ । 

यसअघि पनि धनगढीकी ३४ वर्षीया महिलालाई क्वरेण्टीनबाट घर पठाएपछि कोरोना देखिएकोमा सोमबार फेरि ६० वर्षीया महिलालाई कोरोना देखिएपछि घरबाटै अस्पताल ल्याउन लागिएको हो । लम्की चुहा अस्पताल स्रोतले भन्यो, ‘१४ दिन क्वरेण्टीनमा राखिएपछि ती महिलाको र्‍यापिड टेस्ट गरिएको थियो । र्‍यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । अहिले प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिँदैछ ।’ टीकापुर अस्पतालको एम्बुलेन्सबाट उनलाई सेती प्रादेशिक अस्पताल ल्याउन लागिएको अस्पतालले जनाएको छ । 

यसअघि दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रङ्गशालामा बनाइएको क्वरेण्टीनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर तीन दिनपछि घर पठाइएको पाइएको थियो । घर पठाएको दोस्रो दिन परिवारका सदस्यको स्वाब सङ्कलन गरिएकोमा तीन दिनपछि ती पुरुषको घरकै ३४ वर्षीया आफन्तलाई कोरोना पुष्टि भएपछि घरबाटै ल्याइएको थियो ।

यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी आफन्त, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

सोमबार नयाँ सङ्क्रमित पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ, जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी ११ मध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना, नारायणी अस्पताल वीरगन्जमा तीन तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई–दुई जनाको उपचार भइरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया