सुनकोशीमा बेपत्ता भएका मध्ये एकको शव फेला

 जेठ ८, २०७७ बिहिबार १४:३५:४७ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक – सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एकको शव फेला परेको छ । 

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ सापिङको भित्री सडकखण्डको सिलामे भिरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा सवार दुई जना नदीमा खसेर बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजी कार्यका क्रममा आज बिहान यस नदीमा भोला महतको शव फेला परेको हो । 

उनी भुम्लु गाउँपालिका ४ का बासिन्दा भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट र्‍याफ्टिङ ल्याएर खोज्ने क्रममा उनको शव फेला परेको र गाउँपालिका १ का २६ वर्षीय अशोक गिरीको भने अझै खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । 

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी कोल्टो पर्दा उनीहरु हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसेर बेपत्ता भएकोे जनाइएको छ ।

त्यही गाडीमा सवार ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया