‘रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन्’

 जेठ १५, २०७७ बिहिबार १०:५२:१८ | रासस
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ ।

भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताउनुभयो ।

उक्त घटनाले प्रदेश सरकारलाई दुःखित तुल्याएको भन्दै उहाँले त्यसको सत्यतथ्य छानबिन हुने विश्वास व्यक्त गर्नुभयो ।
  
उहाँले भन्नुभयो, ‘घटनाको सत्यतथ्य छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ । यसको छानबिनका सम्बन्धमा कर्णाली प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ । घटनाको अनुसन्धानमा सहयोग पुर्याउन र संयमता अपनाउन सम्वद्ध पक्षमा अपिल गर्दछु ।’
 घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकारझैँ प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री भण्डारीले उक्त घटनालाई सम्प्रदायिक नबनाउन र अतिरञ्जित नगर्न सबै सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।

उहाँले यस्तो अकल्पनीय घटनामा ज्यान गुमाउने भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिकाका टीकाराम सुनार सबैमा हार्दिक श्रद्धाञ्जलि एवं मृतात्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सशस्त्र प्रहरी बलको जनशक्तिले घटनाको आसपासका क्षेत्रमा बेपत्ताको खोजीकार्य जारी राखेको जनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया