गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसले सदन बहिष्कार गर्‍याे

 साउन १७, २०७५ बिहिबार १६:१:५४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापासँग नियमावलीको नियम २ सय १९ अनुसार प्रश्न सोध्ने समय दिन गरेको आग्रहलाई सभामुखले अस्वीकार गरेपछि कांग्रेसका सांसदहरु बैठक छोडेर निस्किएका हुन् । 

कञ्चनपुर घटनाबारे जानकारी गराएपछि प्रश्न सोध्न नदिई सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समय दिनुभएको थियो । त्यसपछि पनि सभामुखले प्रश्नोत्तरको लागि समय नदिएपछि कांंग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरे । सांसद डाक्टर मिनेन्द्र रिजालले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९मा भएको व्यवस्था अनुसार मन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न सोध्न सक्ने प्रावधान रहेको भन्दै सोही बमोजिम समय उपलब्ध गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सभामुख महोदय, यो स्वविवेकीय अधिकार होइन महोदय, प्रश्न सोध्न पाइन्छ ।’

प्रतिपक्षी दलका सांसदहरु उभिरहेकै समयमा सभामुख महराले नियमावलीको नियम १५ पढेर सुनाउनुभएको थियो । विशेष समय र शून्य समयमा उठेका प्रश्नको सवालमा मन्त्रीसँग प्रश्न उत्तरको व्यवस्था नभएको र गृहमन्त्रीको जवाफ नियम १५ अन्र्तगतको भएको भन्दै आसनग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

नियमावलीका बारेमा प्रतिपक्षी दलका सांसद र सभामुखबीच भनाभनपछि सभामुखले समय उपलब्ध नगराई प्रतिपक्षी दलका सांसद उभिइरहेका बेला प्रतिनिधिसभाका विषयगत समितिमा रहेका सदस्यहरुको नाम पढ्न सुरु गर्नुभएको थियो । कांग्रेसको अवरोधका बीच सभामुखले सबै १० वटा विषयगत समितिमा रहेका सांसदहरुको नाम पारित भएको पनि घोषणा गर्नुभयो ।

त्यसपछि सभामुखले कार्यसूचीमा रहेको अर्को कार्यक्रम बीमा विधेयक प्रस्तुत गर्नका लागि अर्थमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।

प्रतिपक्षी दलका सांसदको बहिष्कारका बीच अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राख्नुभएको बीमा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गर्यो । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अबैध लागू औषध कारोबारविरुद्ध सहयोगसम्बन्धी विमस्टेक महासन्धि प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया