बर्दिया : आरडीटीको भरमा घर पठाइएकामा कोरोना, २ वटा गाउँ सिल

 असार ३, २०७७ बुधबार १९:५१:२ | भावुक योगी
unn.prixa.net

बर्दिया – पछिल्लो समय बर्दियाको बढैयाताल गाउँपालिका कोरोना सङ्क्रमितको ‘हटस्पट’ बन्दै गएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

बुधबार एकैदिन बढैयाताल गाउँपालिकाको वडा नम्बर १ र २ मा गरी २६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बढैयातालमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

बुधबार कोरोना पुष्टि भएका २६ जना सबै आरडीटी परीक्षण गरेर घर पठाइएका व्यक्ति हुन् । उनीहरुलाई जेठ २९ गते क्वरेण्टीनमा आरडीटी परीक्षण गरी घर पठाइएको थियो । पीसीआर परीक्षण गर्न दबाब बढेपछि जेठ ३१ गते पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जले बुधबार निकालेको रिपोर्टमा उनीहरुमा कोरोना सङ्क्रमण देखिएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताउनुभयो । 

आरडीटी परिक्षण गरी घर पठाइएकाहरुमा पनि कोरोना देखिएपछि अब सङ्क्रमण समुदायस्तरमा फैलिन थालेको भन्दै बढैयाताल गाउँपालिकासहित बर्दियाबासीमा त्रास फैलिएको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । त्रसित नहुन आग्रह गर्दै पीसीआरको दायरा बढाउन उहाँले माग गर्नुभयो ।

बुधबार सङ्क्रमण देखिएका सबै बढैयाताल गाउँपालिका वडा नम्बर १ र २ का हुन् । कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासनले बढैयातालको वडा नम्बर १ र २ लाई सिल गरेको छ । सिल गरिएको क्षेत्रमा आवत जावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । 

सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको खोजी भइरहेको र कन्ट्याक्ट ट्रेसिङ गरी सबैको पीसीआर परीक्षण गरिने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

यसैगरी बुधबार बर्दियाका बासगढी नगरपालिकाका चार जना र राजापुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म बर्दिया जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ४१ पुगेको छ । सङ्क्रमित सबैलाई आइसोलेशनमा राखिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया