कुहिएको चामल खरिद प्रक्रियामा संलग्न कर्मचारी पुरस्कृत !

 साउन ७, २०७७ बुधबार १९:३:२८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाले कुहिएको चामल खरिद प्रक्रियामा संलग्न भएर विवादमा तानिएका कर्मचारीलाई पुरस्कृत गरेको छ । गएकाे असारमा बसेको नगर सभाको बैठकबाट निर्णय गर्दै खरिद प्रक्रियामा संलग्न भएर विवादमा आएका प्रमुख प्रशासकीय अधिृकत नारायणप्रसाद सापकोटासहितका कर्मचारीलाई पुरस्कृत गरेको हो ।

यस्तै उपमहानगरपालिका प्रशासन प्रमुख नारायणप्रसाद शर्मा र वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझालाई समेत पुरस्कृत गरेको छ । उनीहरुलाई वर्षभरि उत्कृष्ट काम गरेबापत एक महिनाको तलब बराबर हुन आउने प्रोत्साहन भत्ता दिँदै पुरस्कृत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उनीहरु तीनै जना लकडाउनबाट प्रभावित भएकाहरुलाई वितरण गर्न दिइएको राहत सामग्री खरिद प्रक्रियामा संलग्न थिए । राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएपछि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा ठेक्का दिइएको आरोप लागेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामै मिलोमतोको आशङ्कामा त्याे प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कैफियत देखिएपछि विस्तृत अनुसन्धान गर्नुपर्ने ठहर गर्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर छानबिन गरिरहेको छ । अख्तियारले दोषी ठहर गरेमा खरिद प्रक्रियामा संलग्न कर्मचारीसमेत कारबाहीको दायरामा आउने भए पनि उपमहानगरपालिकाले उनीहरुलाई पुरस्कृत गरेको हो । उपमहानगरपालिकाले त्यसअघि भएको कार्यपालिका बैठकमा चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो तर उनीहरुलाई अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने वार्षिक मूल्याङ्कनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएकाले चामल प्रकरणलाई मात्र जोडेर हेर्न नहुने बताउनुभयाे । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्याे विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै दोषी वा निर्दोष भन्न नसकिने भएकाले यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ । 

थप ६ कर्मचारी पनि पुरस्कृत 

यस्तै उपमहानगरपालिकाले वर्षभरि उत्कृष्ट काम गरेको भन्दै अन्य ६ जना कर्मचारीलाई पनि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा आलेप अधिकृत लेखनाथ ओझा, इन्जिनियर सिद्धराज भट्ट, कृषि शाखा प्रमुख लोकराज उपाध्याय, ओभरसियर निर्मल देउवा, आईटी अफिसर सुएस चन्द र लक्ष्मी जोशी रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया