बालक हत्या प्रकरण : यसरी भयो अपहरणकारीसँग प्रहरीको इन्काउन्टर

 साउन २१, २०७५ सोमबार १६:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – कागेश्वरी मनोहरा नगरपािलका –९, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर थिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् ।

बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको पनि सूर्यविनायक जंगलमा प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

महाशाखाबाट खटिएर आएका प्रहरी नायव उपरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीसँगको दोहोरो भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक करथलीका २३ वर्षीय अजय तामाङ को ज्यान गएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भइ अहिले टाउन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका–७, नगदेश बुद्ध बिहारको तल एक निर्माणधिन घरको हिलोमा तीन फिट तल गाडेको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकको मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा दिउँसो १२ बजे शव भेटिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाए लगत्तै घट्नामा खटिएका महाशाखाका पाँचवटा टोली सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी कार्य गरेको थियो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका–८, स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसँग प्रहरीको जम्काभेट भएपछि दोहोरो भिडन्त भएको हो ।

सिंहले भन्नुभयो, ‘सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरीको टोलीले जवाफी फायर गर्यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।’

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो । मृतक अपहरणकारीको शव मुचुल्का गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

चमेलीले संचालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । साँझ बालकलाई घुम्न जाने बाहनामा फकाएर लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले जानकारी दिएको छ ।

६ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले आठ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुई पटक अपहरणकारीले बालकको आमालाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाए लगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करिब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

सोमबार बिहान अपहरणकारी ठिमी धुन्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्नेक्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाए लगत्तै प्रहरीको पाँच वटा टोली त्यसतर्फ गएको थियो ।

मृतक बाबु गणेश खड्का केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङ्ग स्थित हाइल्याण्ड सेकेण्डरी स्कुलमा कक्षामा कक्षा ६ मा अध्ययनरत थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस् :

काठमाडौंको काँडाघारीबाट बालकको अपहरण

अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया