मृत्युको मुखबाट फर्किएकी रुमलाले भनिन् : डाक्टर बनेर दुःखीहरुको सहयोग गर्छु

 साउन २१, २०७५ सोमबार १८:५७:३० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – ११ वर्षकी रुमलाको मुटुको शल्यक्रिया सफल भएको छ ।

लामो समयदेखि मुटुमा समस्या भइ थला परेकी रुमला अहिले शल्यक्रिया सकाएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । आर्थिक अभावका कारण मृत्यु र जीवनको दोधारमा रहेकी रुमलाको उपचारका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगपछि उपचार सम्भव भएको हो ।

मुटुको शल्यक्रिया गर्नका लागि चाहिने ५० हजार रुपैयाँ नपाएर छटपटाएकी रुमलाको उपचारका लागि देश–विदेशबाट सहयोग मिलेपछि रुमलाको उपचार सफल भएको ‘रुमला बचाउ अभियान’मा लागेका समाजसेवी किशोर खड्काले बताउनुभयो ।

उज्यालो अनलाइनमा ११ वर्षकी रुमलाको उपचारका लागि आर्थिक अभाव भन्ने समाचार प्रकाशित भएपछि रुमलाको उपचारका लागि सहयोग जुटेको हो । रुमलाको उपचारका लागि झण्डै ५० हजार रुपैयाँ खर्च लाग्ने भए पनि उहाँको खातामा १ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको हो ।

साउन १३ गते आइतबार  गंगलाल अस्पतालमा मुटुको शल्यक्रिया गराएकी रुमलाको शुक्रबार डिस्चार्ज भएको हो । रुमला बचाउ अभियानका सहयोगी खड्काका अनुसार अहिले रुमलाको अवस्था राम्रो छ । 

अस्पतालबाट डिस्चार्ज भएर कोठामा बस्दै आएकी रुमलाले आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

‘मसँग सहयोगीलाई दिनसक्ने केही छैन’, रुमलाले आँखाभरी आँसु पार्दै भनिन, ‘कसैले रगत, कसैले नगद दिएर मलाई नयाँ जीवन दिनुभएको छ । सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।’

अहिले पनी रुमलाको उपचार भइरहेको छ । रुमलाका अनुसार उनले औषधि खाइरहनुपरेको छ र आउँदो बिहीबार टाँका काट्न अस्पतालले बोलाएको छ । रुमलाका लागि विदेशमा बस्नु हुने नेपाली र स्वदेशमा बस्नु हुने झण्डै ४०–५० जनाभन्दा बढी नेपालीहरुले सहयोग गरेका हुन् ।

पढेर डाक्टर बन्ने चाहना

अरुको सहयोगका कारण मृत्युको मुखबाट बाँचेकी रुमलाको डाक्टर पढ्ने ठूलो धोका छ । ‘एक छाक खाना नखाएर  भए पनि म पढेर समाजको सेवा गर्न चाहन्छु’, रुमलाले भनिन्, ‘सकेँ भने डाक्टर नै बन्छु,  नभए नर्स पढेर भए पनि म आफूजस्तै बेसाहारा र दुःखीहरुको सेवा गर्छु ।’

रुमलाले पढेर ठूलो मान्छे बन्ने सपना बनाए पनि उनको परिवारमा पढ्ने वातावरण भने छैन् । आमा भएर पनि बेसहारा बनेकी रुमलालाई आर्थिक सामाजिक क्षेत्रबाटै पढ्नका लागि समस्या छ ।

रुमला भने आफ्नो खातामा बाँकी रहेको रकमबाट विद्यालय पढ्ने र ठूलो मान्छे बन्ने सपना बोकेको सुनाउछिन् । श्रीमान र सासू–ससुराको पीडा सहन नसकेर रुमलाकी आमा छुट्दै बस्नुभएको छ । उहाँ एक छाक खान दिनहुँ अर्काको काम गर्न व्यस्त हुनुहुन्छ ।

त्यसै कारण पनि रुमलाको सामाजिक तथा आर्थिक अवस्था नाजुक भएको हो  । रुमलाकी आमाले छोरीले पढ्ने सोच बनाए पनि आफूसँग पढाउने क्षमता नभएको बताउनुभएको छ ।

याे पनि पढ्नुहाेस :

गरिबको उपचार : ५० हजार नपाएर जीवन मरणको दोसाँधमा रुमला

उज्यालो समाचार प्रभाव : मुटु रोगी रुमलाको उपचारका लागि आर्थिक सहयोग जुट्दै

छोरी बचाउन पैसा खोजिरहेकी आमाको पीडा : म मरेर छोरी बाँच्ने भए मै मरिदिन्थेँ

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया