उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

 कात्तिक ८, २०७७ शनिबार २०:३७:१९ | रासस
unn.prixa.net

डाेल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका पालिकामा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न सङ्कटलाई ध्यानमा  राख्दै उपल्लो डोल्पाका तीन पालिकामा कात्तिकभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा कात्तिकभित्र स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको  खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिनुभयो । 'कोरोना भाइरसका कारण चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीनले भिसा दिएन, त्यही कारणले हिउँदका समयमा उपल्लो डोल्पामा खाद्यान्न सङ्कट पर्ने खतरा छ', प्रमुख बुढाले भन्नुभयो ।

उपल्लो डोल्पामा पर्ने खाद्य सङ्कटलाई हेरी कात्तिकभित्र खाद्यान्न ढुवानीका लागि सङ्घीय र प्रदेश सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयलगायत सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकबाट निर्णय भएको हो ।  

कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोत यार्सागुम्बा टिप्न नपाउनाका साथै ठेकेदारले चिनियाँ मार्ग हुँदै चामल, नुनलगायत सहुलियतको खाद्यान्न ढुवानीका लागि प्रवेशाज्ञा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।

सहुलियत मूल्यमा पाइने सरकारी चामल नगएपछि ३० किलोको ६ हजार रुपैयाँ तिरेर खोजीखोजी बजारिया चामल प्रयोग गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ । खाद्यान्नसँगै आर्थिक सङ्कट परेपछि स्थानीय साहुबाट ३६ प्रतिशतमा ऋण काढेर चामल किनेर खाने गरेको उपल्लो डोल्पामा पर्ने धो गाउँबासीले बताए । 'पैसा हुनेले नगद दिएर चामल खान्छन्, नहुनेले चामलको मूल्यमा ३६ प्रतिशत ब्याज जोड्ने गरेर उधारोमा चामल खान्छन्, यस वर्ष यार्सागुम्बा टिप्न नपाएकाले केही नागरिकबाहेक अधिकांशको आर्थिक अवस्था नाजुक छ', धो गाउँका नेयार भोटेले बताउनुभयो ।

उपल्लो डोल्पामा उवा र आलु गरेर दुई बाली मात्र उत्पादन हुने भएकाले अरु सबै अन्यत्रबाट किनेर गुजारा गर्नुपर्ने बाध्यता छ । भोट क्षेत्रमा बस्ने नागरिकको समस्यालाई ध्यानमा  राख्दै तत्काल सहुलियतको खाद्यान्न पठाउन जिल्लास्थित सरोकार निकायले सरकारसँग माग गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया