पार्टी माटाेकाे हाँडी हाेइन, कसैले लट्ठीले हानेर फुट्दैन : नेता रावल

 मंसिर ७, २०७७ आइतबार १८:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कैलाली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताउनुभएको छ ।

कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधका कारण पार्टी नफुट्ने बताउनुभएको हो । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने सङ्केत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जनाकाे पार्टी फुटाउने योजना नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गर्नुभयो । नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताउनुभयो ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताउनुभयो ।

उहाँले गएकाे भदौ २६ गतेको स्थायी कमिटी बैठकले सङ्घीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । पार्टी विधि, पद्धति र नागरिककाे चाहनाअनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर्विरोध चर्किएको नेता रावलको भनाइ छ । उहाँले पार्टी अध्यक्षहरूलाई विधि र प्रणालीअनुसार चल्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया