प्रहरी नै तीन वर्षदेखि रातो स्टिकर लगाएको घरमा !

 साउन २८, २०७५ सोमबार १९:१२:३७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – अरुको सुरक्षामा चौबीसै घण्टा तैनाथ रहने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरीहरु आफू भने रातो स्टिकर टाँसेको घरमा बस्न बाध्य छन् ।

०७२ वैशाख १२ गतेको भूकम्पपछि जीर्ण बनेको जिल्ला प्रहरी कार्यालय सल्यानको भवनमा जिल्ला प्राविधिक कार्यालय सल्यानलले बस्नै नमिल्ने भन्दै रातो स्टीकर टाँसेको छ । सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण भनेर प्रमाणित हुँदा पनि प्रहरीहरु भने त्यसै भवनमा बस्न बाध्य छन् ।

झण्डै ७० वर्ष पुरानो कच्ची व्यारेक भवन भूकम्पले क्षतिग्रस्त बने पनि त्यसको विकल्प नभएकोले अहिलेसम्म आफूहरु त्यसैमा बस्दै आएको प्रहरी जवानहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको ब्यारेक भवन  धेरै वर्ष पुरानो र जीर्ण अवस्थामा रहे पनि पूर्ननिर्माण हुन सकेको छैन ।

ब्यारेक भवन पुरानो र जीर्ण अवस्थामा रहेको हुँदा यहाँ बस्ने प्रहरी जवानलाई जोेखिम मोलेर भए पनि बस्नै पर्ने बाध्यता रहेको छ । ६ कोठाको दुईतले कच्ची भवनमा अहिले झण्डै ४० जना प्रहरी जवानहरु बस्दै आएका छन् ।

नयाँ ब्यारेक भवन निर्माण नहुँदासम्म प्रहरी जवानहरुले जोखिम मोलेरै भए पनि यस भवनमा गुजारा गरिरहेको प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । ‘हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयमा भवन निर्माण तथा मर्मतका लागि जानकारी गराइसकेका छौं’, उहाँले भन्नुभयो, ‘तर अर्को भवन निर्माण नहुँदासम्म प्रहरी जवानले जोखिम मोलेर भए पनि गुजारा गर्नु पर्ने भएको छ ।’

तर अहिलेसम्म अर्को भवन बन्ने नबन्ने विषयमा कुनै टुंगो लागेको छैन । भूकम्पपछि यो भवनमा बस्नु जोखिमपूर्ण भनेर आफूलाई जानकारी हुँदा पनि भवनमा बस्नुको विकल्प नरहेको प्रहरी जवानहरुले बताएका छन् । कतिपय प्रहरीहरु भने नजिकैको घरहरुमा कोठा भाडामा लिएर पनि बस्दै आएका छन् । 

जिल्ला प्रहरी कार्यालयको भवन २०१२ सालमा बनेको भएको भए पनि ब्यारेक भवन भने अझैं  केही वर्ष पुरानो रहेको स्थानीयको भनाई छ । ‘सल्यानमा ०१२ सालमा प्रहरी कार्यालय बसेको हो’, स्थानीय यज्ञबहादुर थापाले भन्नुभयो, ‘प्रहरी कार्यालय बस्नुभन्दा अगाडि नै यहाँ त्यो ब्यारेक भवन थियो, यो भवन धेरै पुरानो भइसकेको छ ।’ 
जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला जवानहरुका लागि पनि ब्यारेकको आवश्यकता रहेको भए पनि उनीहरु कार्यालय बाहिर स्थानीयको घरमा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको प्रहरीले बताएका छन् । माथिल्लो निकायमा यहाँको अवस्थाबारे जानकारी गराएको भए पनि कुनै उपलब्धि नभएको उनीहरुको गुनासो छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया