महाेत्तरीमा 'डिप्लोमा इन आयुर्वेद' काे पढाइ सुरु

 माघ २६, २०७७ सोमबार १८:४९:५८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालामा डिप्लोमा इन आयुर्वेद विज्ञान विषयको पठनपाठन सुरु भएको छ । सोमवार गौशाला नगरपालिका १२ काे राष्ट्रिय मावि कान्ति बजारको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच नेपालमै पहिलो पटक यस विषयको पठनपाठन सुरु भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग समन्वय गर्दै गौशाला नगरपालिकाले यस तहको पठनपाठन सुरु गरेकाे हो । 

कार्यक्रममा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडी सबैको सहयोगमा अभियानको रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । पश्चिमा विज्ञानतर्फ आकर्षित भएकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएकाले तीनै तहका सरकारले प्राचीन विज्ञानलाई जीवन्त राख्ने किसिमको अभियान जनस्तरसम्म सञ्चालन गर्नुपर्ने आवश्यकतामाथि पूर्वमन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । पोखरेलले मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भूमिका अहम् रहेको बताउनुभयो । 

कार्यक्रमका प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कापडीले शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राखी प्रदेश सरकारले मानव सूचाङ्कलाई अगाडि बढाउने किसिमको योजना तयार पारेकाे जानकारी दिनुभयो । प्रदेश सरकारका शिक्षा नीतिमा गौशाला नगरपालिकालाई समेटिएको प्रदेश सचिव कापडीले बताउनुभयो । 

सीटीईभीटी प्रदेश २ प्रमुख नागेन्द्र साहले गुणस्तरीय प्राविधिक शिक्षाको माध्यमबाट प्रदेश २ लाई नमुना बनाउने किसिमको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सरोकारवाला निकायसँग आग्रह गर्नुभयो । 

नगरप्रमुख शिवनाथ महतोले संस्था उद्घाटन गरेर मात्रै नहुने भएकाले यसलाई व्यवस्थित गरी निरन्तरता प्रदान गर्नुपर्नेमा सबैको भूमिकाको आवश्यकतामाथि जोड दिनुभयो । प्रदेश २ काे सामाजिक विकास मन्त्रालयले आयुर्वेद अस्पताल निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गरेकाे नगरप्रमुख महतोले जानकारी दिनुभयो । 

स्थानीय महेन्द्र लामाले प्रदान गर्नुभएकाे १० कट्ठा जग्गामा गौशाला प्राविधिक शिक्षालय भवनको शिलान्यास भएको हो । त्यस जग्गा सोमवार मालपोत कार्यालय जलेश्वरबाट शिक्षालयको नाममा दर्तासमेत भइसकेको गौशाला १२ का अध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Dr.S. P .Dhital

    Feb. 8, 2021, 7:29 p.m.

    प्रशंसनीय काम। बधाई तथा सफलता को लागि शुभकामना।👏👏🙏🌹।

  •  0 Reply

तपाईको प्रतिक्रिया