घले गाउँको चियाबारीमा मनै फुरुङ्ङ ! (फोटोफिचर)

 चैत ३, २०७७ मंगलबार २०:६:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ८ अर्मलफाँटका सुजन सुनार साथीहरूसँग मिलेर लमजुङको घलेगाउँ पुग्नुभयो । घले गाउँको होमस्टे बसाइँ, ‘अर्गानिक’ खानाको स्वादका साथै प्राकृतिक, सांस्कृतिक सौन्दर्यमा टहलिन पाउँदा उहाँलाई आनन्दित महसुस भयो ।

गाउँ नजिकै रहेको चिया बगानमा पुग्दा त झनै उहाँलाई रमाइलो अनुभूति भयो । ‘हरियाली चिया बगानमा साथीहरूसँग रमाउन पाउँदा खुसी लाग्यो’, उहाँले भन्नुभयो, ‘चियाबारीमा फोटो खिचियो, रमाइलो लाग्यो ।’

उहाँसँगै विभिन्न ठाउँबाट आएका पर्यटक पनि चियाबारीमा फोटो खिच्न व्यस्त थिए । ‘चियाबारीमा फोटो, भिडियो खिच्ने पर्यटकको लहर देखिन्थ्यो’ उहाँले भन्नुभयो । उहाँमात्र होइन घलेगाउँ पुग्ने प्रायः सबै पर्यटक चियाबारी नपुगी फर्किँदैनन् । चियाबारीमा पुगी फोटो, भिडियो खिच्न जो–कोही ‘लालायित’ बन्छन् ।

पहिले चरन, अहिले चिया बगान !

२०५७ सालदेखि घले गाउँमा होमस्टे सञ्चालनमा आएको हो । होमस्टे सुरु हुनुभन्दा पहिलेदेखि नै घले गाउँमा चिया खेती सुरु गरिएको हो । 

गाउँमा होमस्टे सञ्चालन गर्नुपूर्वदेखी नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय भुजुङका साथै अन्य सम्बन्धित निकायको आर्थिक तथा प्राविधिक सहयोगमा घले गाउँमा चिया खेती सुरु गरिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका सचिव उमल विकले बताउनुभयो ।

‘अहिले चिया बगान रहेको ठाउँमा पहिले स्थानीयले दाउराको खलियो लगाउँथे । यहाँ चरन क्षेत्र थियो । स्थानीयले गोठ, खर्क बनाउँथे’, उहाँले भन्नुभयो, ‘गाउँमा होमस्टे सञ्चालन गर्नु अघिदेखि नै यहाँ चिया खेती सुरु गरिएको हो ।’

‘टिकटक’ बनाउनेकाे सङ्ख्या बढ्दो

चिया बगानमा अहिले चिया उत्पादन भइरहेको छ । हरियाली चियाबगान अहिले पर्यटकको रोजाइँमा पर्न थालेको छ । ‘चियाबारीमा आएर फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या बढ्दो छ’, उहाँले भन्नुभयो, ‘चिया टिप्दै गरेको बेलामा त चिया टिप्नेसँगै पर्यटकले टिकटक बनाउँछन् । सामाजिक सञ्जालले पनि यहाँको प्रचारप्रसारमा टेवा पुर्‍याएकै छ ।’

चिया उत्पादनमा आत्मनिर्भर

सुरुमा १२ रोपनीबाट सुरु गरिएको चिया खेती अहिले थप विस्तार भएको छ । ‘स्मार्ट भिलेज’ को रूपमा अघि बढिरहेको प्रसिद्ध लमजुङको घलेगाउँ चिया उत्पादनमा पनि आत्मनिर्भर छ । गाउँलाई आवश्यक चिया गाउँमै उत्पादन हुने गरेको र उत्पादित चिया बिक्रीबाट आम्दानीसमेत हुने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका सचिव उमल विकले बताउनुभयो ।

गाउँमा आउने पर्यटक ‘लोकल चिया’ को स्वाद लिन पाउँदा खुसी हुन्छन् । गाउँ आउने पर्यटकले कोसेलीको रूपमा चिया किनेर लैजान्छन् । गाउँमै चिया उत्पादन भएसँगै चिया खरिदमा हुने खर्च बच्नुका साथै चिया बिक्रीबाट आम्दानीसमेत हुने गरेको उहाँले बताउनुभयो ।

पर्यटक आगमन बढ्दो

अहिले घले गाउँमा दैनिक दुई सय हाराहारीमा पर्यटक आउने गरेका छन् । ‘बाह्य पर्यटकको आगमन शून्य प्रायः छ । आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ’ सचिव विकले भन्नुभयो ।

प्राकृतिक, धार्मिक, साँस्कृतिक रूपमा निकै धनी छ लमजुङको घलेगाउँ । यहाँकाे धार्मिक, प्राकृतिक, सांस्कृतिक सौन्दर्यका साथै स्थानीयको न्यानो आतिथ्यतामा पर्यटक लोभिन्छन् ।   

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया