गुठीकाे नाममा रहेकाे मन्दिरको एक सय चार रोपनी जग्गा अतिक्रमण

 भदौ ४, २०७५ सोमबार १७:२८:५२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – रुद्रेश्वर महादेवको एक सय चार रोपनी गुठीको जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गर्दै आएका छन् ।

२०५५ सालमा सरकारले मोहीले गुठीको जग्गा रैकरमा परिणत गरेर प्रयोग गर्न पाउने निर्णय गरेपछि सबै जग्गा मासिएको स्थानीय शेरबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अहिले शिवजन मावि रहेको स्थानदेखि बसपार्क र टाउन प्लानिङ गरेको स्थान पनि गुठीको जग्गा थियो ।

अहिले त्यहाँ वरपर मन्दिर अगाडिको पुरानो भवन मात्र गुठीको नाममा बाँकी रहेको उहाँको भनाइ छ । २० वर्षअघि मोहीका रूपमा प्रयोग गरेका स्थानीयले गुठीको जग्गा रैकरमा परिणत गरेर बिक्रीसमेत गरिसकेका छन् । पहिले गुठीका नाममा रहेको अधिकांश जग्गामा अहिले पक्की घर र अन्य संरचना बनेका छन् ।

जिल्ला मालपोत कार्यालयका अनुसार रुद्रेश्वर महादेवको गुठीको नाममा अहिले  २१ रोपनी जग्गा मात्र देखिन्छ । ०५५ मा गुठीको जग्गा रैकरमा परिणत गरेपछि अहिले आठ रोपनी ११ आना मात्र बचेको र त्यो पनि मोहीले भोगचलन गर्दै आएको कार्यालय प्रमुख लीलाबहादुर बस्नेतले बताउनुभयो ।

यस्तै गुठीका नाममा रहेको २ रोपनी ६ आना बगर खेत कार्यालयको ढड्डामा देखिए पनि कहाँ छ भन्ने पत्ता लगाउन नसकिएको कार्यालयले जनाएको छ । 

रुद्रेश्वरको साढे ३ सय वर्षको इतिहास र सितलपाटी नाम

स्थानीय ७२ वर्षीय नेत्रबहादुर खत्रीका अनुसार रुद्रेश्वर महादेवको आप्mनै विशेषता रहेको पाइन्छ ।

यस क्षेत्रको धेरै वर्ष पुरानो यस शिवालय रुद्रेश्वर मन्दिर भएको स्थानमा पहिले पौवाको बार धाम रहेको थियो । अहिले जनस्वास्थ्य कार्यालय बसेको स्थानमा एउटा पिपलको बोट रहेको थियो ।

पछि त्यो पीपल जीर्ण भएर गयो । त्यस पीपलका १२ वटा  हाँगा थिए । पीपल मुनि चौतारी थियो र त्यहाँ मानिसहरु बस्ने गर्थे । जसका कारण यस ठाँउको नाम समेत सितलपाटी रहको थियो । यस स्थानमा एउटा मन्दिर थियो त्यो मन्दिरको ढोकामा चारवटा प्वाल रहेको र त्यसलाई नागबेलीले घुमाएर राखेको खत्रीले बताउनुभयो । 

पुरानो त्यो मन्दिरलाई फालेर त्यो स्थानमा नयाँ मन्दिर स्थापना गरिएको उहाँले बताउनुभयो । तर नयाँ समितिले चासो दिँदा अहिले मन्दिरले साँच्चीकै मुहार फेरेको आफूले अनुभव गरेको उहाँले सुनाउनुभयो ।

रुद्रेश्व महादेवको इतिहासबारे बताउँदै उहाँले भन्नुभयो, ‘यस मन्दिरमा वैशाख जेठमा रुद्रीपाठ हुने भएकाले मन्दिरको नाम पनि रुद्रेश्वर रहन गएको हो । हाम्रो बुवाले भन्नुहुन्थ्यो, गर्मीको मौसममा खडेरी परेपछि यस मन्दिरमा ठूलो रुद्रीपाठ हुन्थ्यो । रुद्री पाठ गरेको दिनमा पानी पर्ने गथ्र्यो ।’

पहिले गर्मी मौसममा रुद्रीपाठ गर्दाको सम्पूर्ण जिम्मा जिल्लाको सरकारले लिने गरेको आफूले सुनेको उहाँले बताउनुभयो । अहिले भने मन्दिरको आय आर्जन केही नभएपछि स्थानीयसँग पैसा उठाएर पूजापाठ गरिँदै आएको उहाँको भनाई छ । अहिले पनि पूजा गरेको बेला आकाशबाट पानी पर्ने हुँदा यस मन्दिरको विश्वास कायमै रहेको उहाँले बताउनुभयो ।

‘अहिले यहाँका स्थानीयले पैसा उठाएर सामूहिक रुपमा वैशाख जेठको गर्मीको मौसममा खडेरी परेको समयमा यस मन्दिरमा पूजा गर्ने गर्छौं’, खत्रीले भन्नुभयोे, ‘र पूजा गरेपछि त्यही दिन आकाशबाट पानी पनि पर्ने गरेको छ । गर्मी बढी भयो भने अझै पनि यहाँ शिवको अराधना गरिन्छ ।’

जिल्लाको प्रमुख व्यापारिक केन्द्र सितलपाटी रहेको यस मन्दिरको संरक्षण तथा प्रचार प्रचार गर्न सके केही मात्रामा भए पनि मन्दिर अवलोकन गर्ने र पूजा पाठ गर्न आउनेको संख्यामा वृद्धि हुन सक्छ ।

याे पनि पढ्नुहाेस

साढे तीन सय वर्ष पुरानो मन्दिरको जिर्णोद्धार

सल्यानमा भेटियो बाजा बज्ने अनौठो गुफा !


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया