विवाह गराउँदा नागरिकता खोज्ने पुरोहित

 चैत १२, २०७७ बिहिबार १६:१८:१५ | इन्द्रसरा खड्का

काठमाण्डाै - नेपालगञ्जबाट पूर्वतिर झण्डै एक घण्टा गाडीको यात्रापछि पुगिन्छ राप्तीसोनारी गाउँपालिकाको बिनौना गाउँ । वरपर गहुँबारी, त्यही बारीको बीचमा छ पुरोहित ताराप्रसाद शर्माको घर । इँटाको गारो र टायलले छाएको चिटिक्कको घर । आँगनमा भैँसी र बाख्रा । आँगनमा डोरीले बनाइएको खटियामा बसिरहेकाे अवस्थामा भेटिनुभयाे, पुरोहित ताराप्रसाद ।

शिरमा ढाका टोपी, निधारमा रातो ठाडो टीका, गहुँगोरो वर्ण । उमेरले ६७ वर्ष पुग्नुभएका पुरोहित ताराप्रसादको दैनिकी पूजापाठ र कर्मकाण्डका काम गर्दै बित्छ । गाउँमा विवाह, ब्रतबन्ध र अरू काजकर्म हुँदा सबैले उहाँलाई सम्झन्छन् ।

विवाह गर्ने केटाकेटीका चिना हेरिदिने, लगन जुराइदिने र विवाह गराइदिने कामसमेत उहाँकै हो । विवाह गराउने बेला उहाँले केटाकेटीको उमेर बुझ्नुहुन्छ । उमेर ढाँटेको जस्तो शङ्का भएमा नागरिकता र जन्मदर्ता माग्नुहुन्छ ।

‘जन्मदर्ता, नागरिकता नभए म वैवाहिक कार्य गर्दिनँ’, ताराप्रसादले भन्नुभयो । बालविवाहले केटाकेटीको भविष्य नै बिग्रने गरेको थाहा पाएपछि उहाँले नागरिकता र उमेर खोज्न थाल्नुभएको हो । 

कसरी आयो परिवर्तन ?

अघिल्लो वर्ष चैतमा विश्वभर फैलिएको कोरोना त्रासबाट बच्न सरकारले लकडाउन गर्‍याे । शिक्षण संस्था, कलाकारखाना, उद्योग सबै बन्द भए । घरभित्रै बस्नु पर्‍याे । त्यही बेला भागेर बिहे गर्नेको सङ्ख्या बढ्यो । राप्तीसोनारीमा पनि यस्तै भयो । यस्तो विवाहमा पुरोहित ताराप्रसादलाई कर्मकाण्डका लागि बोलाउन थालियो । गएको असोजमा पुरोहित ताराप्रसाद एक वैवाहिक कार्यमा व्यस्त हुनुहुन्थ्यो । प्रहरीले बेहुलाबेहुलीसहित उहाँलाई  विवाह मण्डपबाटै पक्राउ गर्‍याे । 

केटाकेटीको उमेर २० वर्ष नपुगेको र बालविवाह गराएको भन्दै प्रहरीले ताराप्रसादलाई पक्राउ गरेको थियो । यो कुरा उहाँलाई थाहा थिएन, पछि प्रहरीले भनेपछि थाहा पाउनुभयो । प्रहरीले कुरा बुझाएर छोडेपछि उहाँले वैवाहिक कार्यमा जानुभन्दा अघि उमेर सोध्न थाल्नुभयो ।

‘कानुनको पालना गर्नुपर्छ’

पुरोहित ताराप्रसाद बालविवाह रोक्न सबैले कानुनको पालना गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले कानुन थिएन । मान्छेले धर्मअनुसार नीति बनाएका हुन्थे । अहिले संविधान छ, कानुन बनेको छ । यसको सबैले पालना गर्नुपर्छ ।’ ७० वर्षका बुढासँग सात वर्षीया गोमाले बिहे गर्नुपरेको कथा सुनाउँदै ताराप्रसादले भन्नुभयो, ‘पहिले समय त्यस्तै थियो । मान्छे पढेलेखेका थिएनन् । शास्त्रमा नभएको कुरा कसैले हो भने त्यही सत्य मान्थे र कार्य गर्थे तर अहिले त्यस्तो छैन ।’

छोरीको रजस्वला नहुँदै कन्यादान गरिदिनुपर्छ भन्ने धार्मिक मान्यता गलत रहेको भन्दै उहाँले धर्मशास्त्रमा बिहेबारे केही नलेखिएको प्रष्ट पार्नुभयो । 

नेपालको संविधानले बालविवाहलाई सामाजिक अपराध घोषित गरेको छ । कानुनले २० वर्षमुनिको विवाहलाई प्रतिबन्ध लगाएको छ । कानुन विपरीत बालविवाह गरे/गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुन्छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया