परदेशमा रमेन मन : घरदेश फर्केर व्यावसायिक बंगुर पालन

 चैत १४, २०७७ शनिबार १३:४५:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जीवन धान्नकै लागि कामकाे सिलसिलामा नेपालबाट भारत जानेकाे लहर लामाे हुन्छ । आजभन्दा २ दशक अघि त्यही लहरमा मिसिनुभएकाे थियाे  सुन्दरबजार नगरपालिका–९, भोटेओडारका योगबहादुर थापा मगर पनि ।

भारतमा उहाँले मजदुरीका साथै गार्मेन्ट उद्योगमा पनि रोजगारी गर्नुभयो । दुःख गरेअनुसारको कमाइ पनि राम्रै थियो । तर ‘परदेशमा मात्रै कति बस्नु, अब परदेशमा होइन घरदेशकै माटोमा केही उद्यम गर्नुपर्छ’ भन्ने लाग्यो, उहाँलाई । त्यसपछि उहाँ २०६९ सालमा भारत छोडी घर आउनुभयाे, गाउँघरमै केही गर्ने सपना बाेकेर ।

स्वदेशमै उद्यम 

‘भारतमा लामो समय नोकरी गरियो । कमाइ राम्रै थियाे’ उहाँले भन्नुभयो, ‘अबको समय गाउँघरकै माटोमा पसिना बगाउनुपर्छ । उद्यम गर्नुपर्छ भनेर भारत छोडेर घर फर्किएँ ।’

स्वदेश फर्किएर उहाँले ‘मगर फ्रेस हाउस’ चलाउनुभयो । फ्रेस हाउससँगै उत्पादनका क्षेत्रमा पनि लाग्नुपर्छ भनेर बंगुर पालन गर्ने योजना बनाउनुभयो र बंगुर पालन व्यवसाय सुरु गर्नुभयो । परिवारको सरसल्लाहमा उहाँले २०७७ साल कात्तिकबाट व्यवसायिक बंगुर पालन व्यवसाय सुरु गर्नुभएको हो ।

याेगबहादुरले सुन्दरबजार नगरपालिका–९, पैह्रेमा झण्डै २ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक बंगुर पालन सुरु गर्नुभएको हो । सुरुमा उहाँले बंगुरका २ पाठा र ३ पाठीबाट यस बंगुर पालन व्यवसाय सुरु गर्नुभएको हो ।​

बंगुरको मासुको माग र मूल्य राम्रो रहेकाले आफुले बंगुर पालन गरेको उहाँले बताउनुभयो ।

‘सुरुमा ६० हजारको लगानीमा यो व्यवसाय सुरु गरेको हुँ,’ याेगबहादुरले भन्नुभयो, 'अहिले फर्ममा ६ लाख बढी लगानी भइसकेको छ ।'

अहिले उहाँको बंगुर पालन व्यवसाय थप विस्तार भएको छ । अहिले उहाँले सञ्चालन गरेको ‘सुनिल पशुपन्क्षी फर्म’मा साना-ठूला गरी ३५ बंगुर पालिएका छन् । उहाँले ३ वटा सुधारिएको बंगुर फर्ममा बंगुर पाल्दै आउनुभएको छ । 

साँझ–बिहान उहाँको समय बंगुर फर्ममै बित्ने गर्छ । फर्म सञ्चालनमा परिवारको पनि उत्तिकै साथ–सहयोग मिलेकाे छ ।

‘बंगुरकै रेखदेख, दानापानी, सरसफाइमा समय बित्छ । परिवारको पनि उत्तिकै सहयोग छ,’ उहाँले बंगुरकाे हर सुमसुम्याउँदै भन्नुभयो, 'परदेशमा भन्दा घरदेशको आफ्नै उद्यममा राम्राे नि ।'

यसाे भनिरहँदा ६१ वर्षीय याेगबहादुर अलि भावुक देखिनुभयाे । 

वार्षिक १० लाख आम्दानी हुने

उत्पादन लिन सुरु भएसँगै वार्षिक ८ देखी १० लाख हाराहारीमा आम्दानी हुने उहाँले बताउनुभयो ।

‘सुरुवातका चरणमा छौँ । अब उत्पादन हुँदैछ । उत्पादन बिक्रीबाट राम्रो आम्दानी हुनेमा ढुक्क छु,’ बंगुरलाई दाना हाल्दै उहाँले भन्नुभयो, ‘एक सय हाराहारीमा बंगुर पाल्ने सोच छ, वार्षिक ८/१० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष छ ।’

उत्पादन आफ्नै फ्रेस हाउसबाट बिक्री गर्ने उहाँकाे साेच छ । उत्पादन स्थानीय बजारमा सजिलै बिक्री हुन्छ ।

बिस्तारै बंगुरपालनलाई व्यवस्थित र विस्तार गर्दै लैजाने उहाँको सोच छ । यसकाे लागि याेगबहादुरले मासु उत्पादनका साथै बंगुरको पाठापाठी उत्पादनमा जोड दिनुभएकाे छ । पाठापाठी उत्पादन गरी बिक्री गर्न सके राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया