बकर इदमा सामूहिक नमाज

 भदौ ६, २०७५ बुधबार १२:१६:१५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  नेपालगञ्जमा बकर इदको अवसरमा हजारौं मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । 

नेपालगञ्जको विपी चौकस्थित इदगाहमा सामूहिक नमाज पढ्दैं हजारौं मुस्लिम समुदायले देशमा स्थायी शान्ति र समृद्धिको कामना गरेको मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले बताउनुभयो । 

बकर इदको नमाज पढेपछि एकआपसमा गला मिलाएर बकर इदको शुभकामना साटासाट गर्ने क्रम चलिरहेको छ । मुस्लिम समुदायलाई बकर इदको शुभकामना दिनका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता विपी चौकमा पुगेका थिए ।

बकर इदको नमाज पढेपछि पत्रकारहरुसँग कुरा गर्दै शहरी विकास मन्त्री मो. इस्तियाक राइनले बकर इदले पछिल्लो समय सामाजिक सद्भाव विकासमा महतवपूर्ण भूमिका खेलेको बताउँदै बकर इदको सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको यस पर्वमा हैसियत हुने मुसलमानका लागि हज र कुुुर्बानी अनिवार्य रहेको छ । यो पर्व मुस्लिम समुदाय तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।

मुस्लिमहरुले खान योग्य मानिने खसी, भेडा, ऊँट लगायतका जनावरहरुको कुर्बानी उपयुक्त मानिन्छ । हाँस, कुखुरा र अन्य स–साना पक्षीको कुर्बानी दिइँदैनन् ।

ठूला जनावरमा सातजना मिलेर तथा खसी र बाँझो बाख्रा एकजनाले सिङगो कुर्बानी दिनुपर्ने धार्मिक परम्परा रहेको छ । कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ ।

एक भाग आफ्नो लागि, एक भाग इष्टमित्रका लागि र अर्को एक भाग गरिब असहाय मानिसका लागि छुट्याउनुपर्छ । कुर्बानीको मासु बिक्री गर्न मिल्दैन भने कुर्बानी भएको जनावरको छाला बिक्री गरी रुपैयाँ अथवा छाला गरिब असहाय वा मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । 

इस्लाम धर्मगुरु मञ्जरीका अनुसार वकर इदको धार्मिक विश्वास अनुसार अल्लाहका पैंगम्बर (दूत) हजरत इब्राहीम अलैहिस्सलामलाई अल्लाहले ‘हे इब्राहीम तिम्रो लागि जो सबभन्दा प्यारो चीज छ त्यसको कुर्बानी गर’ भनेका थिए । हजरत इब्राहिम अलैहिस्सलामको सबभन्दा प्यारो एउटा मात्र छोरा हजरत इस्माइल अलैहिस्सलाम थिए । अल्लाहको आदेश पालना गर्दै अल्लाहलाई  खुशी पार्न आफ्नो छोरा हजरत इस्माइल अलैहिस्सलामलाई कुर्बान गर्ने निर्णय उनले गरे ।

१० जिलहिज्जको दिन हजरत इब्राहीम अलैहिस्सलामले आफ्नो छोरा इस्माइल अलैहिस्सलामलाई निकै धारिलो हतियारले घाँटी रेट्दा अल्लाह प्रसन्न भएर छोराको घाँटी नरेटिइ दुम्बा भेडाको कुर्बानी भएको थियो ।

त्यही समयदेखि हजरत इब्राहीम अलैहिस्सलामको सुन्नतलाई कायम गर्दै मुस्लिमहरु खसी, भेडा, ऊँट लगायतका जनावरहरुको कुर्बानी दिंदै आएको मानिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया