सासू–ससुरालाई राम्रो स्याहार गर्ने बुहारीहरू सम्मानित

 बैशाख ८, २०७८ बुधबार १९:२७:२० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।

ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले जानकारी दिनुभयो ।

अध्यक्ष कुवँरका सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दरबजार नगरपालिका ८ चुनपहाराकी देवी कुँवर, सुन्दरबजार नगरपालिका ८ घोक्रेश्वाँराकी गङ्गा कार्की , सुन्दरबजार नगरपालिका ८ बलिथुमकी टेकमाया ढकाल र सुन्दरबजार नगरपालिका ९ की दीपा खनाललाई प्रमाणपत्रको साथमा दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

समाजले सम्मान गरेकोमा खुसी मिलेको सम्मानित हुनुभएकी गोमा परियारले बताउनुभयो । ‘मिठो वचन गरी मिठो–नमिठो जे छ त्यो खान दिएमा, राम्रो व्यवहार गरेमा ज्येष्ठ नागरिक खुसी हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सम्मानित भएपछि झनै उहाँहरूको राम्रो स्याहार–सुसार गर्न हौसला मिलेको छ ।’ 

कार्यक्रममा भोटेओडा क्षेत्रमा ८० देखि ८४ वर्षसम्मका १५ जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाइ लाैरी, टर्चलाइट, फलफूल वितरण गरिएको छ । 

‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ । सन्ततिले वृद्ध बा–आमाको सम्मानपूवर्क स्याहार–सुसार गर्नुपर्छ भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक, बा–आमा, सासू–ससुराको सम्मानपूर्वक स्याहार–सुसार, पालनपोषण गर्नेलाई समाजले बर्सेनि सम्मान गर्दै आएको छ’, अध्यक्ष कुवँरले भन्नुभयो ।

कार्यक्रमकै अवसरमा भोटेओडार सिउँडीबारमा रहेकाे यात्रु प्रतीक्षालयमा लामो समयदेखि पिउने पानीको व्यवस्था गर्दै आउनुभएकी स्थानीय समाजसेवी पूर्णीमाया घलेलाई पनि सम्मान गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया