खाडीमा भएन कमाइ : गाउँ फर्केर तरकारी खेती

 जेठ ९, २०७८ आइतबार ११:२७:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आफ्नो घर–परिवार छोडी ‘मुग्लान’ भासिने, परदेशीने रहर कस्लाई पो हुन्छ र ! तैपनि परिवारको सुख र खुशीको सपना साँचेर, मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै हुन्छन् । 

आजभन्दा आठ वर्षअघि विदेश पस्नेको त्यही लहरमा मिसिनुभएको थियो, लमजुङका गोविन्द नेपाली पनि । गाउँघर, मेलापात, ज्याला–मजदुरी गरेर घर–परिवारको दैनिकी टार्न, छोराछोरीलाई पढाउन सकस भयो । घर–व्यवहारले झनै च्याप्दै लग्यो, दोर्दी गाउँपालिका–१, भारते एक्लेखेतका गोविन्दलाई । त्यसपछि परिवारको मुहारमा खुशी ल्याउने चाहनाका साथ उहाँ २०७० सालतिर परदेश लाग्नुभयो । वैदेशिक रोजगारीको क्रममा उहाँ खाडी देश कतार पुग्नुभएको हो । १७ महिना उहाँले त्यतै जागिरे जीवन बिताउनुभयो ।

खाडीको चर्को घाम, गाह्रो काम । कमाइ कम । त्यसैले पनि उहाँको मन  खाडीमा रम्न, बस्न मानेन । गाउँको चिसो, शितल हावापानी । साथीसङ्गी, मेलापात, उकाली–ओराली । घरपरिवारको मायाले गाउँ डाकिरह्यो, उहाँलाई । विदेशको बसाइ छोड्न कर गरिरह्यो, उहाँको मनले । उहाँले मनको कुरा मान्नुभयो । र विदेश छोडी आफ्नै गाउँ फर्कनुभयो ।  

‘विदेशको चर्को घाममा बाहिर काम गर्नुपर्ने । कमाइ पनि खासै भएन । दुःख धेरै भयो । विदेश बसिरहन मन लागेन,’ गोविन्दले भन्नुभयो, ‘त्यसैले यहाँभन्दा बरु आफ्नै गाम (गाउँ)मा गइ हलो, कुटो–कोदालो गर्ने सोचेर विदेश छोडी आफ्नै देश फर्कि आएँ ।’

परदेशले सिकायो श्रम र समयको महत्व

विदेशमा खासै कमाइ त भएन । तर त्यहाँको बसाइले उहाँलाई श्रम र समयको महत्व राम्रोसँग बुझाएको थियो । विदेशले सिकाएको पाठलाई गाउँ फर्कने बित्तिक्कै व्यवहारमा उतार्नुभयो, गोविन्दले । गाउँ आउने बित्तिक्कै उहाँले एक्लेखेतमै २ वटा बाँसको टनेल बनाइ व्यावसायिक तरकारी खेती सुरु गरिहाल्नुभयो । २०७२ सालमा आफ्नो २ रोपनी र ३ रोपनी जग्गा बन्धकीमा लिइ ५ रोपनी जग्गामा तरकारी खेती सुरु गर्नुभएको हो ।

५ रोपनी जग्गामा काउली, बन्दा, मटरकोसा, धनियाँ, गोलभेँडा लगाउनुभयो । पहिलो वर्ष नै उत्पादन राम्रो भयो । उत्पादन बिक्रीबाट राम्रै कमाइ हात पर्यो ।

विदेशको कमाइले घर–खर्च चलाउन धौ–धौ थियो । तर घरदेशमै गरेको उद्यमले परिवारको गर्जो टार्न सहज भएको महसुस भयो, उहाँलाई । त्यसपछि, तरकारी खेतीलाई नै अघि बढाउने योजना बनाउनुभयो, उहाँले ।
सुृरुकै वर्ष उहाँले उत्पादन बिक्रीबाट ७० हजार रुपैयाँ आर्जन गर्न सफल हुनुभयो ।

तरकारी खेतीमै निरन्तर

उहाँ निरन्तर तरकारी खेतीमा लागेको ८ वर्ष भइसक्यो । आवश्यक ज्ञान, सीप लिएर सिँचाइको सुविधा भएको, उपयुक्त जग्गामा उचित मल, बीउको छनौट गरी तरकारी खेती गरेमा फाइदा हुने उहाँ बताउनुहुन्छ । अहिले स्वदेशकै उद्यमको कमाइमा उहाँ रमाउनुभएको छ । यसैमा खुशी मिलेको छ, उहाँलाई । ‘तरकारी खेतीबाटै परिवारको गर्जो टार्न सहज भएको छ । अब तरकारी खेतीलाई थप विस्तार गर्दै लैजाने योजना छ,’ उहाँले भन्नुभयो ।

तरकारी खेतीबाट मात्रै वार्षिक एक लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँलाई जिल्लास्तरबाट सहयाेग पनि पाउनुभएकाे छ । तरकारी खेतीका लागि साविक जिल्ला कृषि विकास कार्यालय, लमजुङबाट ६० हजार रुपैयाँ र प्लास्टिक टनेल अनुदानमा पाउनुभयाे । यसले तरकारी खेती गर्न आफूलाई झनै हौसला मिलेकाे उहाँकाे भनाइ छ ।

दुःख गर्न सके तरकारी खेतीबाटै राम्रो कमाउन सकिने, गुजारा चलाउन सकिने उहाँ बताउनुहुन्छ । ‘त्यसैले अहिले पनि यसै खेतीमा निरन्तर लागिरहेको छु,’ उहाँले भन्नुभयो । उहाँले गाउँमा मात्र होइन अहिले सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्नुभएको छ ।

यहाँ ५ वटा टनेल बनाइ उहाँले बन्दा, काँक्रो, घिरौँला, करेला, मुला, साग लगाउनुभएको छ । उत्पादन सुरु हुन लागेको छ । यहाँको उत्पादन बिक्रीबाट ४०–५० हजार रुपैयाँ आम्दानी हुने उहाँ बताउनुहुन्छ । तरकारी खेतीमा उहाँ आफैँ खटिनुहुन्छ । घर–परिवारको पनि साथ–सहयोग मिलिरहेको छ ।

उत्पादन स्थानीय स्तरमै खपत

उहाँको उत्पादन नजिकै रहेको भोटेओडार, बगैँचा, सिउँडीबार, बेसीशहर लगायतका ठाउँमा खपत हुँदै आएको छ । उत्पादन डोकोमा बोकेर उहाँ आफैँ बजार पुग्नुहुन्छ । उत्पादन स्थानीयस्तरमै खपत हुन्छ ।

‘गाउँको उत्पादन राम्रो हुन्छ । ताजा हुन्छ । त्यसैले पनि उत्पादन राम्रो मूल्यमा बिक्री भइरहेको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो, ‘उत्पादन नबिक्ला भन्नु परेको छैन ।’

उहाँले धान, मकैका साथै मौसमी तथा बमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । ‘बेमौसमी तरकारी उत्पादन गर्न दुःख हुन्छ । तर उत्पादन राम्रो मूल्यमा बिक्छ । बेमौसमी तरकारी खेतीमा फाइदा हुन्छ,’ उहाँले भन्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया