पूर्वसांसद हरिभक्त अधिकारीको निधन

 जेठ ३१, २०७८ सोमबार १८:५०:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिनुभयो ।

नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । पाैडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।

अधिकारीले गैरसरकारी संस्था महासङ्घको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर समेत काम गर्नुभएको थियो भने २०५५ सालमा नेपाल खाद्य संस्थानको अध्यक्ष पनि हुनुभएको थियो ।

‘उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरिप्रसाद बरालले भन्नुभयो, ‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दछाैँ ।’

नेता अधिकारीको जन्म सुन्दरबजार नगरपालिका वडा नं ४ (साविक दुराडाँडा गाविस चारघरे) मा १९९९ पुस १९ गते भएको हो ।

नेता अधिकारीको निधनले कांग्रेसले एक असल नेता गुमाएको भन्दै कांग्रेसका शीर्ष नेताहरूले समेत समवेदना व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँकाे निधनले कांग्रेसले एक असल नेता गुमाएको छ’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया