लमजुङ : बाढीले हिले बजारको १८ घर बगायो, जलविद्युत् आयोजनामा पनि क्षति

 असार २, २०७८ बुधबार १८:४:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका ८ हिले बजारमा बाढीले क्षति पुर्‍याएकाे छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले हिले बजारकाे एक सामुदायिक भवनसहित १५ घर र हिमालयन पावर पार्टनर जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै रहेका तीन घर पनि बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘एक सामुदायिक भवनसहित यस क्षेत्रका १८ घरधुरीमा बाढीले क्षति पुर्‍याएकाे छ’, उहाँले भन्नुभयो, ‘वर्षासँगै आएको बाढीले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएकाे जानकारी आएको छ ।’

गाउँपालिकाका अनुसार दोर्दी करिडोरमा हिमालयन पावर पार्टनर, दोर्दी १ जलविद्युत् आयोजना, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र सुपर दोर्दी जलविद्युत् आयोजना रहेका छन् ।   

हिले बजारका विस्थापितसँगै अन्य ५० घरधुरीका बासिन्दा फलेनी माविको भवनमा बसेका गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिले बजारकै ४३ घरधुरी बाढीको उच्च जोखिममा रहेका छन् । हिले बजारमा एक सय १४ घरधुरी रहेका छन् ।

गाउँपालिकाले तत्कालका लागि उपलब्ध १७ थान त्रिपाल वडामार्फत त्यस क्षेत्रमा वितरण गरिसकेको सूचना अधिकारी गुरुङले बताउनुभयो ।

विस्थापित र जोखिममा रहेकाहरूका लागि जिल्ला विपद् व्यवस्थापन समिति, आरसीडीसी र नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखा लगायतका सङ्घ–संस्थाले राहतका सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाबाट विस्थापित र जोखिममा रहेका घरधुरीका लागि राहत सामग्री उपलब्ध भएको छ । उपलब्ध सामग्री वितरण गरिनेछ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया