मध्यपहाडी लोकमार्ग : लमजुङको १० किलोमिटर क्षेत्रमा २५ सय फलफूलको बिरुवा रोपिँदै

 असार ७, २०७८ सोमबार १७:४४:२८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको राइनास नगरपालिका क्षेत्रमा पर्ने १० किलाेमिटर सडकका दायाँ–बायाँ विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्न सुरु गरिएको छ । सरकारी तथा निजी साझेदारीमा सडककाे दायाँ–बायाँ एभोकाडो, लिची, रुख कटहर लगायतका विभिन्न फलफूलका बिरुवा रोप्न सुरु गरिएको हो ।

चार सय बिरुवा रोपियो

गएको जेठ १२ गतेदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास क्षेत्रमा पर्ने सडककाे दायाँ–बायाँ फलफूलका बिरुवा रोप्न सुरु गरिएको र अहिलेसम्म चार सय बिरुवा रोपिएकाे मध्यपहाडी लोकमार्ग फलफूल रोपन उपभोक्ता समितिका अध्यक्ष विश्वराज कडारियाले जानकारी दिनुभयो ।

यही असार मसान्तसम्म पाउँदी–बांगेचौरदेखि चेपे पुलसम्म २५ सय बिरुवा रोपेर सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  

तार–जाली लगाएर बिरुवाको संरक्षण

मध्यपहाडी लोकमार्ग फलफूल रोपन उपभोक्ता समितिका अध्यक्ष विश्वराज कडारियाका अनुसार सडक छेउदेखि दुई मिटर पर ६ मिटरको दूरीमा फलफूलका बिरुवा रोपिएको छ । स्थानीय नर्सरीमा उत्पादित फलफूलका बिरुवा खरिद गरी रोपिएको छ ।  

रोपिएको बिरुवालाई तार–जाली लगाएर संरक्षण गरिएको छ । ‘रोपिएको बिरुवाको संरक्षण सम्बन्धित स्थानीय (जग्गाधनी) ले नै गर्छन् । उत्पादन सुरु भएपछि उनीहरूले नै उपयोग गर्न पाउने छन्’, अध्यक्ष कडारियाले बताउनुभयो ।

स्थानीयस्तरमा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने उद्देश्य 

सडक मोडमा हरियाली वातावरण तथा सौन्दर्यको विकास गर्नुका साथै फलफूल बिक्रीबाट स्थानीयस्तरमा आर्थिक क्रियाकलापमा वृद्धि गर्न लोकमार्गको सडक क्षेत्रमा फलफूलका बिरुवा रोपिन थालिएकाे राइनास नगरपालिकाका सहजकर्ता एवम् वरिष्ठ बागवानी विज्ञ चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत नगर क्षेत्रका सडकमा फलफूलका बिरुवा रोप्नका लागि नगरपालिकाले यसै वर्ष १६ लाख रुपैयाँ विनियोजन गरेको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो । ‘यस अभियानका लागि नगरपालिकाले आवश्यकताअनुसार थप सहयोग गर्नेछ’, उहाँले भन्नुभयो ।

उपभोक्ता समितिकाअनुसार यस अभियानका लागि पालिका सरकारका साथै मध्यपहाडी लोकमार्गलगायत सम्बन्धित विभिन्न सङ्घ–संस्थाले पनि सहयोग गरेका छन् ।

पूर्वी सीमा पाँचथरको चियो भन्ज्याङदेखि सुरु भई पश्चिम बैतडीको भारत सीमाना झुलाघाटसम्म जोड्ने मध्यपहाडी लोकमार्गको कुल लम्बाइ एक हजार सात सय ६५ किलोमिटर छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया