लमजुङकाे राइनास : बर्खामा ‘हिलाम्मे’, हिउँदमा ‘धुलाम्मे’ हुने सडक अहिले 'पिच'

 असार १४, २०७८ सोमबार १८:२५:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पालिकामा निर्वाचित जनप्रतिनिधि आएको पनि चार वर्ष पूरा भइसकेको छ । यस अवधिमा कतिपय पालिकामा विकास निर्माणले गति लिएको छ । नागरिकको जीवनस्तर उकासिने क्षेत्रमा पनि ती पालिकाले काम गरिरहेका छन् । नागरिकले गाउँ–ठाउँमै सरकार हुनुको अनुभूति पनि गरेका छन् ।

सडक स्तरोन्नतिमा जुट्दै राइनास नगरपालिका 

विगतमा सडक पूर्वाधारको अवस्था खासै राम्रो नरहेको लमजुङको राइनास नगरपालिकामा अहिले सडक कालोपत्र हुनुका साथै सडक स्तरोन्नति कार्यले तीव्रता पाइरहेको छ । 

यस क्षेत्रमा जनप्रतिनिधि नआउँदा अघिसम्म एक मिटर बाटो पनि कालोपत्र भएको थिएन । विगतमा यहाँको सडकको अवस्था ‘बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे’ थियो । 

विशेषगरी बर्खाको समयमा सेवा लिनका लागि नगरपालिका कार्यालयसम्म पुग्न पनि निकै सकस हुन्थ्यो, राइनास नगरपालिकाका बासिन्दालाई । 

पालिकाको चुनावपछि पालिकामा निर्वाचित प्रतिनिधि आएसँगै नगरपालिकाको पहल, लगानीका साथै सङ्घ र प्रदेश सरकारको सहयोगमा यहाँका सडक स्तरोन्नति भइरेहेको छ । पहिले हिलाम्मे, धुलाम्मे हुने सडक अहिले स्तरोन्नति गरिँदै लगिएको छ । 

आउजाउका साथै सवारी साधन सञ्चालनमा सहज

सडक विस्तारका साथै स्तरोन्नति भएसँगै अहिले हिउँद–बर्खै सवारी साधन सञ्चालनका साथै नागरिकलाई आउजाउमा निकै सजिलो भएको राइनास नगरपालिका ६ का ध्रुवराज धु्रवराज अकेलाले बताउनुभयो । 

‘पहिले त हिँडडुलका साथै सवारी साधन सञ्चालनमा समस्या हुन्थ्यो । बर्खामा झनै सास्ती खेप्नुपर्थ्याे’, यातायात व्यवसायीसमेत रहनुभएका अकेलाले भन्नुभयो, ‘जनप्रतिनिधि आएपछि उहाँहरूको पहलमा यत्तिको बाटो बनेको छ । हामी खुसी नै छौँ ।’

नगर क्षेत्रभित्र रहेका सबै सडकको स्तरोन्नति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

३२ किलोमिटर सडक कालोपत्र

आफूहरू निर्वाचित भएर आउनुअघि एक मिटर बाटो पनि पिच नभएको नगर क्षेत्रमा अहिले ३२ किलोमिटर हाराहारीमा सडक कालोपत्र भइसकेको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो ।

‘हामीहरू आउँदा यहाँ कालोपत्र सडक थिएनन् । धुले सडक पनि व्यवस्थित थिएन । सुरुमै हामी सडक फराकिलो बनाउने, सडक विस्तार गर्ने कार्यमा जुट्यौँ’, उहाँले भन्नुभयो, ‘अहिले तुलनात्मक रूपमा यहाँ धेरै सडक पिच भइसकेको छ । सडक स्तरोन्नति कार्यलाई तीव्रता दिएका छौँ ।’ 

उहाँका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिका क्षेत्रमा मात्रै १६ किलोमिटर पर्छ । योसँगै डुम्रे–बेसीसहर सडक खण्डसँग जोडिएको नेपालडाँडादेखि तार्कुघाट, अन्नपूर्ण थान (भैँसीखोलासम्म) तार किलोमिटर, धमिलिकुवा–टिमुरेसम्म सात किलोमिटर, हर्राबोट–प्यारजुङ सडक खण्डमा सात किलोमिटर बाटो कालोपत्र भइसकेको छ ।

१५ किलोमिटर सडक कालोपत्रका लागि पनि टेन्डर

हर्राबोट–प्यारजुङ सडक खण्ड अन्तर्गत बगुवा–प्यारजुङसम्म १५ किलोमिटर सडक कालोपत्रका लागि पनि टेन्डर भइसकेको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो । 

विगतमा सडकको अवस्था राम्रो नहुँदा सास्ती खेपेका नागरिकलाई सडक स्तरोन्नति भएसँगै आउजाउमा सजिलो भएको छ । समयको बचतसँगै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन पनि सहज भएको स्थानीयवासी बताउँछन् । 

राइनास नगरपालिकाका नौ वटै वडा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका अनुसार यस नगर क्षेत्रका ९० वटै टोलमा कच्ची भए पनि सडक पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया