प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्ता गर्दै विद्यालय सञ्चालन

 साउन २३, २०७८ शनिबार १३:३२:४८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा जिल्ला प्रशासन कार्यालयले कोरोनाका संक्रमित बढेको भन्दै विद्यालय सञ्चालनमा रोक लगाएको सूचना सार्वजनिक गरे पनि विद्यालयमा पढाइ भने बन्द भएको छैन ।

प्रशासनको निर्देशनको बेवास्ता गर्दै केही सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमै नियमित पठनपाठन गराइरहेका छन् । 

रामेछापमा पछिल्लो समय दैनिक २० देखि ६५ जनामा कोरोना संक्रमण देखिने गरेको छ । जिल्लामा अहिले २ सय ९६ जना सक्रिय कोरोना सङ्क्रमितहरु रहेका छन् । संक्रमित बढ्दै गएका कारण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना मार्फत विद्यालय र सभासम्मेलन लगायतका क्षेत्रहरु अर्को सूचना जारी नभएसम्म बन्द गर्ने जनाएको छ । प्रशासनले सार्वजनिक गरेको सूचनालाई लत्याउँदै ग्रामीण भेगका सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमै नियमित पठनपाठन शुरु गरेका हुन् । 

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पनि अपनाइएको छैन । कोरोना महामारी बढीरहेको बेला विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन हुन थालेपछि संक्रमित हुने डरले कतिपय अभिभावकहरुले आफ्ना छोराछोरीलाई विद्यालय पठाएका छैनन् । 

‘बिहान विद्यालय गएका केटाकेटी फर्केर आउँदा ज्वरो लिएर आउँछन् कि भन्ने डर लाग्छ, त्यसैले हामीले छोराछोरीलाई विद्यालय पठाएका छैनौँ’, मन्थली नगरपालिका–१३ फुलासीका ओमकार अधिकारीले भन्नुभयो, ‘यस्तो समयमा विद्यालय सञ्चालन गर्नुभन्दा विद्यालय बन्द गराउनु नै राम्रो हुने थियाे ।’

यता मन्थली नगरपालिका प्रमुुख रमेशकुमार बस्नेत भने नगरशिक्षा शाखाको अनुमति लिएर विद्यालय सञ्चालन गरेको बताउनुहुन्छ । १५ देखि २० जनासम्म मात्रै विद्यार्थी राखेर नियमित आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरिएको र मन्थली नगरपालिकाले नियमित विद्यालयको अनुगमन समेत गर्दै आएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया