साहित्यकार डा.नवराज लम्सालको महाकाव्य 'अग्नि' सार्वजनिक

 असोज १७, २०७८ आइतबार ८:१३:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गर्नुभएको हो ।

देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको चर्चा गरिएको छ ।

राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्याउन सक्छन् लगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । यस अवसरमा लेखक आहुतिले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सिर्जनामा दलित पात्र हुँदैमा त्यस वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको उत्पीडनमा परेकालाई दया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले  समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ ।

समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राख्नुभयो ।

कवयित्री त्रिपाठीले सीमान्तकृत समुदायको पीडा र भोगाइलाई गहिराइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेदसँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गर्नुभयो । साहित्यकार डा लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताउनुभयो ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दखल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको महाकाव्य ४२ सर्ग छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया