मन्त्रीलाई कालो झण्डा देखाएकै निहुँमा हत्या भएको भन्दै संसदमा सरकारको आलोचना

 भदौ २०, २०७५ बुधबार १६:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हकविरुद्ध बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन् । सांसदहरु अमरेश सिंह, लक्ष्मणलाल कर्ण, भरत साहलगायतको त्यस घटनाको विरोध गर्दै छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् । उनीहरुले घटनाबारे सम्बन्धित मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे ।

सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धका सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराउनुभयो ।

संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने स्वतन्त्रता दिएको भए पनि भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राम मनोहर यादवलाई नियन्त्रणमा लिई गैरन्यायिक रुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दावी गर्नुभयो ।  

प्रहरीले यादवलाई गैरन्यायिक तरिकाले राखेर अमानवीय ढंगले निर्मम तरिकाले कुटपिट गरी बेहोस बनाएको र त्यसपछि उपचारको क्रममा स्थानीय अस्पताल घुमाएर अन्त्यमा काठमाडौंको शिक्षण अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको भन्दै यस घटनाको सम्बोधन गर्नुको सट्टा सरकार मौन बसेको आरोप लगाउनुभयो ।

उहाँले घटनाबारे सम्बन्धित मन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै शून्य र विशेष समयमा उठाइएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।  उहाँले भन्नुभयो, ‘शून्य समय के हो ? विशेष समय के हो ? सरकारको वास्तादेखि बाहिरको कुरा हो ।’

मानवअधिकारको हनन भैरहँदा संसद चुप लागेर बस्न नसक्ने भन्दै उहाँले संसदीय समिति गठन गरी सही प्रतिवेदन ल्याउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भरतकुमार शाहले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गर्ने घटनाको छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितलाई राहतको व्यवस्था गरी दोषीलाई कारवाही गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया