कोरोनाबाट प्रभावित रामेछापका ४ हजार ९ सय अति विपन्न परिवारले 'कोभिड राहत रकम' पाउने

 कात्तिक २२, २०७८ सोमबार २०:१२:११ | दीपक भट्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रामेछाप – कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका रामेछापका चार हजार आठ सय ९० अति विपन्न परिवारले राहत स्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । 

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै रामेछापका चार हजार आठ सय ९० अति विपन्न परिवारले राहत स्वरूप त्याे रकम पाउने भएका हुन् ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले काेराेनाबाट प्रभावित अति विपन्न वर्गलाई १० हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेसँगै रकम प्रदान गर्नका लागि कार्यविधि राजपत्रमा प्रकाशन गरेको हो । सरकारले बजेटमा अनुदान रकम पालिकाकाे समन्वयमा २०७८ को असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी उल्लेख गरे पनि भर्खरै मात्रै कार्यविधि बनेको छ ।

कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रमा रहेका अति विपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराउन लागिएको प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । 

विगतमा गर्दै आएको रोजगारी कोरोना महामारीका कारण पूर्णरूपमा गुमाएका र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएका असङ्गठित क्षेत्रका मजदुरहरू जस्तै – खुला सडक, फुटपाथ, चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्यालादारी भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालाई याे रकम प्रदान गरिने भएकाे हाे ।

कार्यविधिमा कोभिड–१९ का कारण एकाघरको परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक सङ्कट झेल्नुपरेको परिवार वा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत याे रकम पाउने उल्लेख छ ।

तर अहिले सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीहरूका परिवार, वैदेशिक रोजगारीमा आयआर्जन गरिरहेका परिवार, पेन्सन सुविधा प्राप्त गरिरहेका परिवार, प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भएका र सरकारबाट एक पटक राहतका रूपमा नगद प्राप्त गरेका परिवारले भने यो सुविधा पाउने छैनन् ।   

५४ प्रतिशतले लगाए काेराेनाविरुद्धकाे पूर्ण खाेप

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ५४ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइसकिएको जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन योग्य मानिएका १८ वर्षमाथिका ५४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएकाे हाे । 

कार्यालयको तथ्याङ्कअनुसार रामेछापमा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन मिल्ने जनसङ्ख्या एक लाख ३७ हजार आठ सय ९१ रहेकाे छ जसमध्ये  ७५ हजार पाँच सय पाँच जनाले कोरोनाविरुद्धको पूर्ण खाेप लगाइसकेका छन् । याे कुल जनसङ्ख्याकाे ५४ दशमलव ८ प्रतिशत हो ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया