चितवनमा पशु एम्बुलेन्स नहुँदा कृषकलाई समस्या

 मंसिर ४, २०७८ शनिबार १०:१३:३९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा व्यावसायिक पशुपालन गर्ने कृषककाे सङ्ख्या बढ्दै गएकाे छ । 

व्यावसायिक पशुपालनको क्रम बढ्दै गए पनि बिरामी पशु चौपायाको उद्धारसँगै उपचारका लागि पशु एम्बुलेन्स नहुँदा चितवनका कृषकहरु समस्यामा परेका छन् । उनीहरुले पशु एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

जिल्लामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार चितवनमा ९२ हजार ८ सय ८७ गाई, ७२ हजार ८ सय ३३ भैँसी, ३ लाख १० हजार ५ सय १७ वटा बाख्रा रहेका छन् । यति धेरै पशु चौपाया भएको जिल्लामा बिरामी पशुको उद्धार र उपचारका लागि पशु एम्बुलेन्स नहुँदा समस्या परेको किसानले बताउँदै आएका छन् । 

जिल्लामा किसानको पहुँच पुग्ने स्तरको पशु एम्बुलेन्स नहुँदा समस्या परेको जिल्लास्तरीय दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले बताउनु हुन्छ । 'बिरामी पशुको समयमा उपचार गर्न नसक्दा वार्षिक करोडौँ रुपैयाँ घाटा बेहोर्नु परिरहेको छ' उहाँले भन्नुभयो 'पशु एम्बुलेन्सको व्यवस्था गरी पशुधनको स्वास्थ्य सुरक्षामा राज्य संवेदनशील हुनुपर्छ ।'

एकातिर दक्ष प्राविधिकको अभाव अर्को तिर बिरामी पशुको तत्काल उपचारमा सकस भएका कारण व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकहरुमा समस्या बढ्दै गएको उहाँले बताउनुभयाे । बगालेले स्वास्थ्य उपचार प्रभावकारी नभएकै कारण धेरै कृषक पशुपालन व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताउनु भयाे।

पछिल्लो समय चितवनमा महँगाे मूल्यमा उन्नत जातका पशु खरिद गरी व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढेको छ । उन्नत जातको पशुको श्रोत जिल्लाको रुपमा समेत चितवनलाई चिनिन्छ। बिरामी भएका पशुलाई तत्कालै उद्धार गरेर भेटेरिनरी अस्पतालमा लैजान सक्ने सुविधासहितको एम्बुलेन्स हुन सके पशुधनको थप सुरक्षा हुने बगाले बताउनुहुन्छ ।

एक महानगर पालिका,५ वटा नगरपालिका र एक गाउँपालिका गरी ७ वटा पालिका रहेको चितवनमा जिल्ला स्तरमा पशुपक्षीको उपचारको लागि भरतपुरमा भेटेरिनरी अस्पताल रहेको छ ।

सबै पालिकामा पशु सेवा शाखा अन्तर्गत काम भए पनि पशुको उद्धार र उपचार प्रभावकारी छैन । बिरामी पशुको उपचारमा सहजताका लागि पशु एम्बुलेन्सको बहस सुरु भए पनि व्यावहारिक रुपमा त्यसको साधन र श्रोत जुटाउन नसकेको चितवनको भेटेरिनरी अस्पतालका प्रमुख डा दयाराम चापागाईँले बताउनुभयो । 

'व्यावसायिक पशुपालनको लागि हब बन्दै गएको चितवन जिल्लामा पशु एम्बुलेन्स ल्याउनका लागि पहल भइरहेको छ' डा चापागाईँले भन्नुभयो 'एम्बुलेन्ससँगै यसको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक बजेट र जनशक्ति पनि आवश्यक छ ।' साधन आउनु मात्र समस्याका समाधन नभएको बताउदै उहाँले साधनको व्यवस्थित परिचालन गर्न सक्नेगरी काम गर्नुपर्ने बताउनुभयो । 

चितवनमा कृषि तथा वन विज्ञान विश्व विद्यालय पनि रहेको छ । गएकाे आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले यस विश्व विद्यालयका लागि एउटा पशु एम्बुलेन्स उपलब्ध गराएको थियो । विश्व विद्यालयलाई प्राप्त भएको एम्बुलेन्स प्रयोग गर्न जिल्लाका कृषक, प्राविधिक र पशु चिकित्सकको पहुँच पुगेको छैन ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुमार्फत फिल्डमा पशुको उपचार गर्न जान आउनका लागि याे एम्बुलेन्स प्रयोग भइरहेको छ । कृषकको पहुँच पुग्ने र आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरी पशु एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने डा. चापागाईँ बताउनुहुन्छ । 

जिल्लामा रहेका पशुको सङ्ख्याको आधारमा पशु प्राविधिक र चिकित्सको कमी र महामारी फैलिएको समयमा समेत रोग नियन्त्रणका लागि आवतजावत गर्न साधन श्रोतको अभाव हुने समस्यालाई समाधान गर्न पशु एम्बुलेन्सको व्यवस्था गर्न सके पशुधनको सुरक्षामा सहयोग पुग्ने देखिन्छ। 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया