चितवन माछा उत्पादनमा आत्मनिर्भर : ७ सय हेक्टर क्षेत्रफलमा माछा पालन

 मंसिर ४, २०७८ शनिबार २१:५:२० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनलाई माछा उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी सङ्घले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको हो । 

जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गरिएको हो । सङ्घका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।

यस वर्ष माछाको उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन पुग्ने अनुमान सङ्घको छ । चितवनमा उत्पादन भएको माछा जिल्लाको माग धानेर ठूलो परिमाणमा देशका प्रमुख सहरमा पुगिरहेकोले जिल्लालाई माछामा आत्मनिर्भर घोषणा गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । 

सुवेदीकाअनुसार चितवनमा मात्रै दैनिक एक मेट्रिक टन माछा भारतबाट आउने गरेको छ । लामो समयसम्म ताजा देखाउन फर्मलिन नामको औषधि राखेर भारतीय माछा नेपाली बजार आइपुग्ने गरेको उहाँले बताउनुभयो । 

चितवनले जिल्लाको मागभन्दा धेरै माछा उत्पादन गरेको र विभिन्न जिल्लाको माग धानिरहेको भन्दै सरकारी निकायको पनि सहयोग मिले वाग्मती प्रदेशलाई नै माछामा आत्मनिर्भर बन्न चितवनले भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताउनुभयो । 

चितवनमा ७ सय हेक्टर क्षेत्रफलमा माछा उत्पादन भइरहेको छ । माडी नगरपालिकामा मात्रै १ हजार १ सय ४६ वटा पोखरी रहेको सङ्घको तथ्याङ्क छ । भरतपुर महानगरमा ६ सय ८, रत्ननगरमा २ सय ३०, खैरहनीमा २ सय ३२, राप्तीमा ६१ वटा पोखरी रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 

चितवनमा कार्प प्रजातिका रघु, कमन कार्प, ग्रास, सिल्भर, ब्रिगेड नामका माछा बढी उत्पादन हुँदै आएको छ । पछिल्लो समय चितवनमा जलकपुर नामको माछा पालनमा कृषकको आकर्षण बढ्दै गएको छ । 

२०४८ सालमा सरकारले माछापालक कृषकलाई प्रति हेक्टर १० हजार रुपैयाँले अनुदान दिन थालेपछि माछा पाल्ने क्रम केही बढेर गयो । चितवनमा १३ सय ७ जना व्यावसायिक माछा पालन रहेको मत्स्य व्यवसायी सङ्घको तथ्याङ्कमा उल्लेख छ । उत्पादनतर्फ २ हजार ८ सय ३१ जनाले रोजगारी पाएका सङ्घले जनायो ।

चितवनमा २०३८ सालदेखि माडी र पश्चिम चितवनको पार्वतीपुर नजिक शङ्करचोकमा माछा पालन व्यवसाय सुरु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया