मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

 असोज १०, २०७५ बुधबार १८:४:४२ | जयराज अवस्थी
unn.prixa.net

असोज – मानव बेचबिखनको आरोपमा बैतडी प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका २ गाँजरीकी २५ वर्षकी देवकी ढाँट रहेका इलाका प्रहरी कार्यालय पाटन बैतडीका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । 

प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेकी महिला ढाँटमाथि गएको असारमा बैतडीको सिगासकी २८ वर्षकी एक महिलालाई बिहे गर्छु भनी ललाई फकाई भारतको बैङ्गलोर पुर्याई बेचबिखन गर्न खोजेको आरोप छ ।

यसअघि मंगलबार प्रहरीले त्यसै घटनामा संलग्न डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ वर्षका गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी मुद्धा दर्ता गरेर उनीमाथि अनुसन्धान थालिसकेको छ । 

अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । पक्राउ परेकी महिलामाथि समेत मुद्दा दर्ता भइसकेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । पक्राउ परेकी ढाँटले महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप लागेको छ । 

यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य गरेको थियो । मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल ८ का ५० वर्षका शंकर अवस्थी र २८ वर्षका ललित बिक अझै फरार रहेका छन् । उनीहरुलाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई बैतडी प्रहरीले पत्र लेखिसकेको छ । 

पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै नेपाल ल्याएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया