राउटेले दशैँ भत्ता पाएनन्

 असोज १८, २०७९ मंगलबार २०:४:२३ | अमर सुनार
unn.prixa.net

दैलेख – सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदायले दशैँ नरमाइलो भएकाे बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाले उपलब्ध नगराएको राउटे मुखिया नारायण शाहीले बताउनुभयो ।

दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँकाे तयारी गर्न नपाएको महामुखिया महिनबहादुर शाहीले दुखेसो गर्नुभयाे । 
सङ्घीय बजेटबाट गाउँपालिका हुँदै वडामा ढिला बजेट प्राप्त भएको कारण समयमा सामाजिक सुरक्षा भत्ता दिन नसकिएको गुराँस गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र ओलीको भनाइ छ । शुक्रवार बेलुकीमात्र रकम आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको उहाँले बताउनुभयाे । 

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाइसराइ गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले राउटे बस्ती जहाँ पुग्छ, त्यही गएर भत्ता वितरण गर्दै आएको छ । गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले २०७४ असारमा राउटे समुदायको तथ्याङ्क सङ्कलन गरी त्यहीँका नागरिकमा गणना गरेयता राउटेहरू जहाँ गए पनि सम्बन्धित ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।  

जनगणनाको तथ्याङ्कले राउटको जनसङ्ख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा एक सय ८० जना रहेकोमा २०६८ को जनगणनामा याे सङ्ख्या घटेर एक सय ६६ जना रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्याङ्कअनुसार एक सय ४९ रहेकोमा अहिले एक सय ४४ जना छ ।

दुई–तीन महिनामा बसेकाे ठाउँ सर्दै हिँड्ने राउटे समुदाय अहिले दैलेखको भगवतीमाई गाउँपालिका १ बाबियातडामा बस्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया