मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम

 असोज २४, २०७९ सोमबार १४:८:२६ | रासस
unn.prixa.net

काठमाण्डौ – आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् । 

चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुन सक्छ’, वितरक श्रेष्ठले बताउनुभयो । 

नेपालमा चुनावभन्दा पनि विश्व कपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउनुहुन्छ । निर्मातासमेत रहनुभएका बानियाँले आफूले निर्माण गरेको चलचित्र महापुरुष कात्तिकमै प्रदर्शन तोकिएको बताउनुभयो ।

‘यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने चुनाव र विश्व कपले नै असर गरेर रिलिज नभएका हुन सक्छ’, कलाकार बानियाँले भन्नुभयो, ‘पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौँ ।’  

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दशैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाहपछि यो गरिएको हुन सक्छ ।’  

केही समययता मल्टिप्लेक्सले नेपाली चलचित्रलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रदर्शनमा आउन नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउनुहुन्छ । ‘देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्यपि हामीले नीतिगतरूपमै यसको समाधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकारबाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौँ र हुँदैन’, अध्यक्ष केसीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया